झापा । कक्षा कोठा अभाव भएपछि बिर्तामोड २ स्थित मोहनमाया माध्यमिक विद्यालयले बिएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईसंग दुईवटा कोठा बनाइदिन आग्रह गरेको थियो । तर, उनले १२ कोठे विद्यालय भवन नै बनाइदिएका छन् ।

 

तिनै दाता प्रसाईले आफूले बनाइदिएको करिब साढे ४ करोडको विद्यालय भवन बिहीबार एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले कक्षा कोठा नभएर विधार्थीलाई समस्या भइरहेका बेला दाता प्रसाईले गरेको सहयोग अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।

 

दुई वर्ष अगाडिको कुरा सम्झँदै उनले भने, ‘विशेष कक्षाको लागि हामीले दुईवटा कोठाको प्रस्ताव गरेका थियौं उहाँले विद्यालयमा आएर समस्या हेर्नुभयो अनि विद्यालय भवन नै बनाइदिने वचन दिनुभयो ।’ प्रसाईले भवन बनाइदिएपछि अध्ययन अध्यापनमा सहयोग पुगेको उनको भनाइ छ ।

 

भवन हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्वाञ्चल क्यान्सर हस्पिटलका संचालकसमेत रहेका प्रसाईले सुस्त मनस्थितिका विद्यार्थीहरु पानीमा भिजेर पढ्दै गरेको देखेपछि आफूले विद्यालय भवन नै बनाइदिने अठोट गरेको सुनाए । उनले आफूहरुको सहयोगले अर्काको भविष्य बनियोस् भनेर दानको रुपमा नभई विद्यालय भवन बनाइदिएर कर्तव्य पूरा गरेको बताए ।

 

उनले आफ्ना स्वर्गीय पिता कृष्णप्रसाद प्रसाईको स्मृतिमा सो भवन बनाइदिएका हुन् । प्रसाईले अर्जुनधाराको सिस्नेमा रहेको सिंहदेवी माविलाई पनि त्यस्तै विद्यालय भवन बनाइदिएका छन् । सिंहदेवी माविले पनि प्रसाईसंग खानेपानीको ट्यांकी निर्माण गरिदिन आग्रह गरेको थियो तर उनले त्यहाँ पनि करोडौंको विद्यालय भवन नै बनाइदिए ।

 

‘विद्यालयमा गएर हेर्दा विद्यार्थीहरुले पानी खान नपाइरहेको समस्या देखेर दुःख लाग्यो’, उनले आफ्नो विगतसंग तुलना गर्दै भने, ‘म विद्यालय पढ्दा अरुको घरमा गएर पानी खान्थे, त्यही अवस्था सिंहदेवी माविमा देखेँ ।’आफूले सिंहदेवी माविमा खानेपानी ट्यांकीसहित विद्यालय भवन बनाइदिएको र केही दिनपछि त्यसलाई हस्तान्तरण गरिने जानकारी दिए ।

 

कार्यक्रममा दाता प्रसाई र उनको परिवारलाई अभिनन्दन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका अनिता कार्की बस्नेतले गरेकी थिइन् । कार्यक्रमको संचालन शिक्षक मुकुन्द ढकालले गरेका थिए ।