बिर्तामोड । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि सडनडेथमा वडा नम्बर ५ लाई ८–७ गोल अन्तरले हराउँदै वडा नम्बर ४ च्याम्पियन बनेको हो । जितसँगै वडा नम्बर ४ ले नगद एक लाख पायो । उपविजेता वडा नम्बर ५ ले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का नगेन्द्रमणि लिम्बू भए । उनले नगद २ हजार पाए । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका वडा नम्बर ४ का हिसुब थपलियाले नगद १० हजार पाए ।
उत्कृष्ट प्रशिक्षक वडा नम्बर ४ का गोपाल राई तथा गोलकिप्पर वडा नम्बर ४ का रोशन शाह भए । उत्कृष्ट डिफेन्डर वडा नम्बर ४ का प्रविन सिटौला, मिडफिल्डर वडा नम्बर ५ का अंकुर तामाङ, फरवार्ड वडा नम्बर ९ का दिशान्त राई भए । उनीहरुले नगद पाँच हजार र ट्रफी पाए ।