बाघसँग केही दिन हिँडेपछि स्याललाई पनि बाघ हुन मन लाग्दो रहेछ । तर, के गर्नु स्यालको जात, पर मुली स्याल बासेपछि बास्न मन लागि हाल्ने । अनि बासेपछि अरुले स्याल भनेर थाहा पाइहाल्ने ।

 

मैले मानेको दल साँच्चिकै दल हुँदो हो त एक से एक गर्व गर्नलायक नेता जन्मिएका हुन्थे । पहिले पहिले जसरी नै फरक आस्था हुनेहरू पनि उसका कुरा सुन्न जम्मा हुन्थे ।

 

तर, नेपालमा राजनीति होइन स्यालनीति चलेको रहेछ । फेन्सिडिल खुवाएर बेहोस बनाइएका कुनै बेलाका लडाकुजस्तै यी माउ स्याल बासेपछि बास्न मात्र जान्दा रहेछन् ।

 

जति तुच्छ शब्दले गाली गर्न जान्यो त्यति चाँडो मन्त्री हुन पाइने । गज्जबको योग्यता सिकाइएछ देशलाई ! स्याललाई संसार नै स्यालले चलाएको छ जस्तो लाग्दोरहेछ । यसैले गुफाबाट निस्केर मुल स्याल कराएपछि सबै स्याल कराउन थाल्दछन् । कुकुर राजा भयो भने बाख्राले पनि भुकोस् भन्ने चाहना राख्दो रहेछ ।

 

जतिसुकै ठुलो पदमा पुगे पनि स्याल आखिर स्याल नै हुँदोरहेछ । गिदी धितो राखेका लाशहरुले गणतन्त्र, लोकतन्त्र र राष्ट्रियता जस्ता शब्द बोलेको पटक्कै नसुहाउँदो रहेछ । तिनले स्याल बासेजसरी बासेको नै सुहाउँदो रहेछ ।

 

मुख छ, त्यसैले स्यालहरू एकले अर्कोलाई गाली गर्न पाइरहेका छन् । अरुलाई गाली गर्न सिकेका छन्, त्यसैले यी हामीजस्ता भेँडाका बथानको नेता हुन पाइरहेका छन् । देशमा मानिसको संख्या बढी हुन्थ्यो त यी स्यालहरु उहिले नै मासिइसकेका हुन्थे । मजस्ता भेँडाका लागि यी जस्ता स्यालनेता नै ठिक छन् ।

 

मन छयालिस सालदेखि नेताको खोजीमा छ, तर आजसम्म स्यालमात्र जन्मिरहेको देखिन्छ । कुकुरमात्र जन्मिरहेको देखिन्छ । बेला बेलामा मानिस जन्मन्छ । तर, उ कुकुर र स्याल नबनेसम्म माथि जानै पाउँदैन, ६० वर्षसम्म युवा नेता नै बनाइन्छ ।

 

मेरो मनले जेसुकै भने पनि मेरो शरीरले भेँडो नै हुन खोज्दछ । मेरा इन्द्रीयहरू कहिले मनका नियन्त्रणमा जालान् ? यो देश कुकुर र स्यालबाट कहिले मुक्त होला ? अघाउँदा यस्तै तर्कना चल्छ, भोक लागेपछि त मलाई पनि एक छाक खान कस्ले दिन्छ, त्यसैका घरमा भतुवा लाग्न जाउँ जाउँ भइ हाल्दछ क्यारे । (प्रसाइँकाे फेसबुक वालबाट)