- जानुका ढुंगाना
सृष्टिको आदि र अन्त्य दुवै आमा हुन्। हामी उभिएको यो धर्ती, जसलाई हामी जननी भन्छौँ, उसले जसरी हरेक प्राकृतिक उथलपुथल, घटना-दुर्घटना र मानवीय क्रियाकलापहरूलाई चुपचाप सहेर सिङ्गो सृष्टिलाई धानेको छ, ठ्याक्कै त्यसैगरी एउटी आमाले घरको सम्पूर्ण जिम्मेवारीलाई आफ्नो काँधमा पूर्ण जिम्मेवारीपूर्वक थामेकी हुन्छिन्।
धर्ती र आमाको समानता
शास्त्रमा भनिएअनुरुप – ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्। धर्तीले सबैलाई आश्रय दिन्छिन्, चाहे त्यो फूल होस् वा काँडा। आमाको स्नेह पनि त्यस्तै निष्पक्ष र निस्वार्थ हुन्छ। घरभित्र आइपर्ने आर्थिक अभाव, मानसिक पीर र पारिवारिक कलहका आँधीबेहरीहरूलाई आमाले मुस्कुराउँदै झेल्छिन् ताकि सन्तानको ओँठमा हाँसो कायम रहोस्। एउटा घरको हरेक खुसी र सुखको जगमा आमाको त्याग र तपस्या लुकेको हुन्छ।
आमाको मुख हेर्ने औँसीको महिमा
वैशाख कृष्ण पक्षको औँसीलाई हामी मातातीर्थ औँसी वा आमाको मुख हेर्ने दिनका रूपमा मनाउँछौँ। यो केवल एउटा चाडमात्र होइन, आमाप्रतिको कृतज्ञता व्यक्त गर्ने एउटा पवित्र अवसर हो। वर्षभरि आफ्नो सुख-सयल बिर्सिएर सन्तानको उज्यालो भविष्यका लागि अहोरात्र खट्ने आमालाई आजको विशेषमा दिन असीमित माया र उच्च सम्मानका साथ मिष्ठान परिकार खुवाउने र बहुमूल्य उपहारले सु-सज्जित पार्ने प्रचलन छ।
यस दिन काठमाडौँको मातातीर्थमा लाग्ने मेलाले ती हरेक मानिसहरूलाई सान्त्वना दिन्छ जस जसले आफ्नी मतामयी आमा गुमाएको पीडा भोगेका हुन्छ्न्। त्यहाँको ऐतिहासिक कुण्डमा आमाको छाँया देखिने जनविश्वासले मातृशक्ति र परलोकबीचको एउटा आध्यात्मिक सम्बन्धलाई स्पष्ट चित्रण गरेको पाइन्छ।
घरको मेरुदण्डः आमा
जसरी एउटा भवनलाई पिलरले थामेको हुन्छ, हरेक घरलाई आमाले दर्बिलो खम्बा बनेर थामेकी हुन्छिन्। छोराछोरी बिरामी हुँदा रातभर जाग्राम बस्नेदेखि लिएर, घरमा अन्नको अभाव हुँदा आफू आधा पेट खाएर सन्तानलाई तृप्त पार्नेसम्मको सामर्थ्य केवल आमामा हुन्छ। धर्तीले जस्तै आमाले पनि कहिल्यै बदलामा केही माग्दिनन्। उनको एउटै चाहना हुन्छ- आफ्नो सन्तानको सुख र खुशी।
यद्यपि
तितो यथार्थ स्विकार्दै गर्दा हाम्रो समाजमा आफ्नै सन्तानबाट कयौँ आमाहरू अपहेलित भई आश्रमको जीवनयापन गर्न बाध्य भएको अनगिन्ती उदाहरण हामीमाझ नभएका होइनन्। जुन काखले संसार देखायो, आखिर त्यही काखलाई बिरानो देख्ने आधुनिकताले आज हाम्रो संस्कारमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
वर्षको एक दिन सामाजिक संजालका भित्तामा आमाका सुन्दर तस्बिर सजाउनु, मिठा मिठा परिकार खुवाउनु र राम्रो बस्त्र लगाइदिनु वास्तवमा कुनै तीर्थ होइन। यथार्थमा आमाको बुढ्यौलीको सहारा बन्नु, आवश्यक जिम्मेवारी, कर्तव्यबोध हुनुका साथै उच्च सम्मानसहित आमालाई खुशी राख्न सक्नु नै साँचो अर्थमा मातातीर्थ कहलाउँछ।
निष्कर्षः
तसर्थ, आमाको मुख हेर्ने औँसीले हामीलाई आमाको महत्त्व के हो भन्ने कुरा बुझ्न झकझकाउँछ। तर, आमाको महत्त्व र सम्मान वर्षमा एक दिन गरिने माया, रेखदेख र दिइने उपहारमा मात्र सीमित राखिनु भने हुँदैन। बुझ्नुपर्ने विशेष कुरा के छ भने जसले हामीलाई यो सुन्दर धर्ती देखायो, जसको काखमा हामीले पहिलो श्वास फेर्यौँ अनि ती आमा जसले यो धर्तीले जस्तै हाम्रा सारा गल्तीहरूलाई क्षमा गर्छिन्, उनको मुहारमा हाँसो छर्नु, खुसी बाँड्नु नै साँचो तीर्थ हो।
वास्तवमा भौतिक उपहारभन्दा पनि बढी आमालाई हामीले दिने समय, माया, सहयोग र सम्मानको खाँचो हुन्छ। शास्त्रले ुमातृदेवो भवु भन्दै आमालाई भगवानभन्दा उच्च स्थान दिएको छ। त्यसैले, जिउँदो देवतालाई वृद्धाश्रमको अनुभूति गराएर धर्मको खोजीमा अन्यत्र तीर्थ जानुको कुनै अर्थ रहँदैन । त्यसैले यस वर्षको मातातीर्थ औँसीमा हामी प्रण गरौँ- कुनै पनि आमाले गहभरी आँसु लुकाउँदै आश्रमको ढोका ढक्ढक्याउनु नपरोस्। आमाको उज्यालो मुहार (खुसी) नै हामी सबैको लागि सबैभन्दा ठूलो तीर्थ बनोस्।
अर्जुनधारा-७
झापा ।