बिर्तामोड । झापाको कचनकवल गाउँपालिका ३ दलकी क्षेत्रमा आज स्कुल बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्।

 

प्रहरी चौकी पथरियाका अनुसार बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र १-०१-०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई पल्टिएको हो।

 

बसमा सवार करिब २० जना विद्यार्थीमध्ये १२ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिमसिनाको मुख, टाउको र बाँया खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

 

घाइते विद्यार्थीहरूमा अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतिक्षा राजवंशी, बर्टिका राजवंशी, सुमन राजवंशी, श्रृजना राजवंशीलगायत रहेका छन्। उनीहरू अधिकांशको टाउको दुख्ने, हातखुट्टा दुख्ने र सामान्य चोटपटक लागेको अवस्था छ। एक बालकको निधारमा चोट लागेको छ भने दुई जनालाई अभिभावकले अन्यत्र उपचारका लागि लगेका छन्।

 

सबै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेकाले खोजी कार्य जारी रहेको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा राखिएको छ।