काठमाडौं । मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ ।

 

गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक-दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ । मौसमविदहरुले बेला-बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् ।

 

हिजोदेखि नै विभिन्न जिल्लाहरुमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न भागमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको बताए ।

 

उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक-दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ ।

 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना रहेको ढकालले बताए । बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ ।