झापा । झापाको बिर्तामोड नगरपालिका २ स्थित श्रीहरि टोलमा सार्वजनिक पैनी अतिक्रमण हटाउने क्रममा स्थानीयबासी र नगरपालिकाबीच तनाव उत्पन्न भएको छ । नगरपालिकाले पैनी कायम गर्ने उद्देश्यले आज बिहानदेखि सञ्चालन गरेको अभियानमा अवरोध र विवाद भएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको हो ।

 

स्थानीय कृष्ण दाहालले करिब ५०० मिटर लामो पैनी मासेर जोतभोग गर्दै आएको भन्ने सूचनाका आधारमा बिर्तामोड नगरपालिकाको टोली बिहान करिब ९ः३० बजेदेखि उक्त स्थानमा पुगेको थियो ।

 

नगरले डोजर प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गराउने र पैनी पुनःस्थापना गर्ने काम थालेपछि दाहालसहित करिब ३०–३५ जना स्थानीयबासीले विरोध जनाउँदै अवरोध गरेका थिए । सो क्रममा दुवै पक्षबीच भनाभन र विवादसमेत भएको थियो ।

 

नगरपालिकाको टोलीले सुरक्षाकर्मीको सहयोगमा दिउँसो करिब १२ बजे पैनी कायम गर्ने काम सम्पन्न गरेको जनाएको छ । तर, टोली फर्किएलगत्तै केही स्थानीयले निजी डोजर प्रयोग गरी पुनः पैनी पुरेका छन् ।

 

पुनः पैनी पुरिने क्रममा स्थानीयबीच विवाद चर्किँदा झडपको अवस्था सिर्जना भएको थियो । सोही क्रममा स्थानीय ६० वर्षीय नन्दकुमार उप्रेती सामान्य घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र स्थानीयस्तरमै उपचार गरिएको जनाइएको छ।

 

नगरपालिकाले सार्वजनिक संरचना संरक्षणमा अवरोध नगर्न आग्रह गर्दै अतिक्रमणविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ । यता, स्थानीयबासीले भने आफूहरूको प्रयोगमा रहेको जमिनमा नगरले एकपक्षीय रूपमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।