झापा । झापामा प्रहरीले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले कारोबारीलाई १५० ग्रामभन्दा बढी ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले बुधबार दिउँसो १२ः३० बजे विशेष सूचनाका आधारमा झापा गाउँपालिका २ सालमारा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतबाट नेपालतर्फ बीआर ३७ एए ५३८० नम्बरको मोटरसाइकल र मे. ७ प ३ नम्बरको मोटरसाइकलमा सवार भएर आउँदै गरेका सालमारा निवासी ३६ वर्षीय नसीम अख्तर मियाँ र ३० वर्षीय सलमान मियाँलाई शङ्का लागेर चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फाइरिङ गरी उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट सेतो प्लास्टिकले पोका पारी लुकाइछिपाइ ल्याएको अवस्थामा प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।
बरामद लागूऔषध, मोटरसाइकल र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिएका छन्।