एजेन्सी । भारतको आन्ध्र प्रदेशमा आज शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेका छन् ।

 

चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्नसक्ने भारत मौसम विज्ञान विभाग (आइएमडी)लाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

 

विभागले हिजो जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रका मानिसहरूलाई सुरक्षित ठाउँमा जान निर्देशन दिएका छन् । केही जिल्लामा हिजोदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ ।

 

आन्ध्र प्रदेशका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिनुभएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।