काठमाडौँ । गण्डकीका प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरूङ ‘दीपक मनाङे’ ले सपथ लिएका छन्।
उनलाई गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार साँझ सपथ खुवाएका हुन्।
सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि पुस दोस्रो साता गुरुङले सभामुखको कार्यालयमा निवेदन दिएका थिए।
सभामुख अधिकारीले मुख्यन्यायाधीवक्ता र कानुनका जानकारसँग पनि छलफल गरिरहेका थिए। त्यतिबेला कार्यव्यवस्था समितिको बैठक गुरूङको सपथ रोकेको थियो।
पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए।
गत वर्ष मंसिरमा भएको चुनावमा मनाङ प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका उम्मेद्वार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उम्मेद्वार गुरुङ निर्वाचित भएका थिए।
तत्कालीन नेकपा एमालेकी उम्मेद्वार खाण्डा लामा गुरुङले उम्मेद्वारी फिर्ता लिँदै समर्थन गरेपछि मनाङे विजयी भएका थिए।
गुरुङलाई सपथ खुवाउनुपर्नेमा नेकपाका सांसदहरू छन् भने प्रतिपक्षी कांग्रेसले सपथ खुवाउन नमिल्ने बताउँदै आएका छन्।