शनिश्चरे । झापा अर्जुनधाराको पुरानो संस्थागत विद्यालयको रुपमा रहेको स्वस्तिका शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय ३४औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यार्थीहरुको तर्फबाट छात्रा गरिमा तिम्सिनाले स्वागत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा पूर्व विद्यार्थीतर्फ निर्माण व्यवसायी विजय सेन्दाङ, एसईई २०७५ का उत्कृष्ट छात्र विवेक अधिकारी र छात्रा बन्दना न्यौपाने, वर्ष उत्कृष्ट अभिभावक माया पौड्याल र ज्येष्ठ अभिभावक देउमाया नेपाल रहेका छन् ।

विद्यालय अन्र्तगत रहेका राष्ट्रिय सेवा दलले मार्च पास प्रदर्शन गरेको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, कविता, रायम्स, फेसन शो, समाचार, तोङ इल मोदोलगायत प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रबन्ध निर्देशक वसन्तकुमार श्रेष्ठको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत प्रधानाध्यापक ओमप्रकाश ओझाले गरेका थिए ।

विद्यालयको वर्तमान गतिविधि र भावी रणनीतिसहितको प्रतिवेदन प्रधानाध्यापक ओझाले प्रस्तुत गरेको कार्यक्रममा अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतम, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, सीपीएफ नेपालका प्रशिक्षक विनोद कार्की, अभिभावक संघका अध्यक्ष दिपिन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदीले र सांस्कृतिक कार्यक्रमको सञ्चालन छात्राद्वय गरिमा तिम्सिना र स्मारिका रानामगरले गरेका थिए ।