अमित खम्बू, झापा 

चुरेको काखभित्र एउटा कछुवाको खपटा आकारको टापुमा दुई वटा मन्दिर, एउटा मन्दिर भगवान शिवको र अर्को किरात समुदायको किरात हाङसाम वारक माङहिम, टापुको अनुमानित २०० मिटर लामो वरपर सर्पले बेरीएकोझैं लाग्ने नागबेली पोखरी, पोखरीमा इलामको माईपोखरी क्षेत्रमा मात्र पाइने पानी सिमलको आकर्षक रुखहरुसँगै विभिन्न जात र रंगका माछाहरु, पोखरीको वरीपरी विभिन्न जडीबुटी र अन्य जातका रुखहरु, नजिकै चेप्टी नदी, घुम्न होस् वा दर्शन गर्न उक्त स्थानमा पुग्ने सबै मोहित हुन्छन् ।

माथि वर्णन गरिएको स्थान झापाको व्यापारीक केन्द्र बिर्तामोडको मुक्तिचौक–शनिश्चरे–खुदुनाबारी हुँदै अनुमानित १७ किलोमिटर, झापा र इलाम जिल्लाको सीमानामा रहेको ऐतिहासिक राजनीतिक घटनासँग जोडिएको सुखानी शहीद सहादतस्थल नजिक रहेको सुखानी शहीद पर्यटन विकास पार्कदेखि अढाई किलोमिटरको दुरीमा माई नगरपालिका–२मा रहेको लिम्बू भाषा अनुसार हाङसाम अर्थात शिव र वारक अर्थात् पोखरीबाट नामाकरण भएको शिवपोखरी हो ।
महत्वपूर्ण धार्मिक तीर्थस्थलकोरुपमा परिचित उक्त शिवपोखरीको पोखरी २०३६ साल अघि चेप्टीको सिम्वलेमा र पछी शिवपोखरी क्षेत्रमा देखिएको कुरा आफूले अग्रजहरुबाट थाहा पाएको शिवपोखरी व्यवस्थापन समितिका अध्यक्ष गंगा लिङदेनले बताए । २०३६ साल अघिको घटना सम्झदैं पोखरीको इतिहासबारे उनको भनाई यस्तो छ ।

कुमाल समुदायको सघन बसोबास रहेको सिम्वलेमा पोखरी हुँदा उनीहरुले पोखरीको माछा मारेर खाने, पोखरी वरीपरी फोहोर गर्नाले उनीहरुले दैविक विपत्तीको सामना गरी त्यहाँको गाँउमा बसोबास गर्ने परिवारहरु विस्थापित हुनुपरेको, केही मानिस मरेको धार्मिक जनविश्वास रहेछ । पछी शिवपोखरीमा देखिएको पोखरीमा पनि स्थानीयहरुले माछा मार्ने, फोहोर गर्ने गरेपछी मानिस बिरामी हुने, सम्पत्तीको क्षती हुने, केही मानिसको मृत्यु भएपछी भने पोखरीमा देवीदेवताको बास रहेको धार्मिक विश्वास अनुसार २०४८ सालबाट तत्कालिन अध्यक्ष धनबहादुर लिम्बूको नेतृत्वमा पोखरीको संरक्षण गर्ने कार्य सुरु भएको अध्यक्ष लिङदेनले बताए ।

भाले र पोथी अर्थात् जोर पोखरीकोरुपमा समेत पहिचान बनाएको उक्त पोखरीको संरक्षणसँगै समितिले २०५०–५१ सालमा शिव मन्दिरको स्थापना गरि पुजाअर्चना सुरु गरेको रहेछ । स्थानीयका अनुसार जोरी पोखरी पछी भने एउटै पोखरीकोरुपमा जोडिएको उक्त मन्दिरमा दैनिक विहिबार सेवासाँवा(पुजारी) कृष्णकुमारी राईबाट पुजाअर्चन हुने गर्दछ । त्यसैगरी वर्षमा दुईपटक उभौला र उधौलीमा धार्मिक कार्यक्रमसहित भव्य पुजाको आयोजना हुने गरेको बताइएको छ । गत वर्षदेखि महोत्सव पनि लगाउन सुरु गरेको बताइएको छ ।

शिवपोखरी सामुदायिक वन उपभोक्ता समूहको अनुमानित ६२ रोपनी क्षेत्रफलको वन क्षेत्रभित्र रहेको उक्त शिवपोखरीको विकासको लागि पर्यटन बोर्डसँग पहल गर्ने, मन्दिरको जीर्णोद्धार गर्ने, मन्दिरको पूर्वी भेगमा रहेको आठ फिट लामो शिवलिङ्ग आकारको ढुंगालाई मन्दिर क्षेत्रमा ल्याई स्थापना गर्नेलगायतको कार्यहरु आगामी दिनमा गर्ने समितिको लक्ष्य रहेको अध्यक्ष लिङदेनले बताए ।

यता किरात धर्म अध्धयनरत् विद्यार्थी एवम् सञ्चारकर्मी भगीहाङ नेम्वाङ “रानीटारे साँइला”ले शिवपोखरीको विषयमा किंवदन्ती रहेको जानकारी दिए । उक्त किंवदन्ती अनुसार सत्य युगमा शिव र पार्वती भन्ने थियो र समय क्रमअनुसार मौसममा आएको परिवर्तनसँगै हिमालय क्षेत्रमा गर्मी हुँदा उभो लाग्ने र हिमालय क्षेत्रमा हिँउ पर्दा चिसो हुँदा उधौली उधो लाग्ने अर्थात् चुली र मधेसतिर झर्ने क्रममा शिवपार्वतीले एकान्त स्थानकोरुपमा शिवपोखरी क्षेत्रलाई चयन गरी बास बस्ने गरेको, पोखरीमा स्नान गर्ने गरेको, सेवा गर्ने गरेको, त्यस क्षेत्रमा पाइने गिठ्ठाभ्याकुर खाने गरेको रहेछ । धार्मिक पर्यटन स्थानको सम्भावना रहेको शिवपोखरी प्रचार प्रसार नहुँदा आझेलमा परेको हुँदा यस स्थानको निरन्तर प्रचार प्रसार गरि धार्मिक तथा पर्यटकीय स्थानकोरुपमा विकास गर्न सबै जुट्नु आवश्यक रहेको उनले बताए ।


त्यसैगरी सिङ्गो नगरपालिकाको पर्यटनको तीन श्रृङखलाअन्र्तगत दोस्रो श्रृङखलामा पर्ने शिवपोखरीको संरक्षण र संवद्र्धन गर्न आफू निर्वाचित भएपछी गत आर्थिक वर्षदेखिनै स्थानीय तहमार्फत् बजेट विनियोजन गर्ने कार्य भइरहेको नगर प्रमुख दिपककुमार थेवेले बताए । गत आर्थिक वर्षमा विनियोजन गरिएको १० लाख रुपैयाँमध्ये स्थानीय चेप्टी नदीको कटानबाट पोखरीलाई जोगाउन तटबन्धन गर्ने क्रममा उपभोक्ता समिति समयमा नबन्दा कार्य अधुरो भएको उनले बताए ।

शिवपोखरीको धार्मिक महत्वसँगै त्यस क्षेत्रमा रहेको जडीबुटीहरु, वनस्पतीहरु, वन्यजन्तुहरुलगायतको विषयमा वन विज्ञान विषय अध्धयनरत् विद्यार्थीहरुको लागि उपलब्धीमुलक हुने हुँदा नगरपालिकाले त्यस किसिमको योजना सञ्चालन गर्ने तयारी गरेको उनले बताए । चालु आर्थिक वर्षमा राष्ट्रपति चुरे कार्यक्रममार्फत् पोखरीको संरक्षणका लागि बाँकी तटबन्धन र वृक्षारोपण गर्न १० लाख रुपैयाँ, सो क्षेत्रको बाटोको स्तरोन्नती गर्न १० लाख रुपैयाँ र माङहिम पुर्ननिर्माण गर्न चार लाख गरी जम्मा २४ लाख रुपैयाँ विनियोजन भएको नगर प्रमुख थेवेले जानकारी दिए ।

यसैबिच युवा संघ नगर कमिटीको आयोजनामा शिवपोखरी क्षेत्रको सरसफाई गर्ने कार्यक्रम सम्पन्न भएको छ । विगत एक वर्षदेखि माई नगरपालिकाभित्र रहेको धार्मिक तथा पर्यटकीय स्थानहरुको सरसफाई गर्ने संघको अभियान र स्थानीय युवाहरुलाई सार्वजनिक स्थानहरुको सरसफाईको आवश्यकताबारे जनचेतना अभिवृद्धी गर्न कार्यक्रमको आयोजना गरिएको कमिटीका अध्यक्ष कुमार सुब्बाले बताए ।

कार्यक्रममा माई नगरपालिकाका नगर सभा सदस्य महेन्द्र बुढाथोकी, युवा संघका केन्द्रीय सदस्य प्रत्युस राना, अर्जुनधारा नगरपालिकाका नगर सभा सदस्यद्धय अर्जुन मेचे र होमनाथ दुलाललगायतको आतिथ्यता रहेको थियो । संघका अध्यक्ष सुब्बाको अध्यक्षता र नगर प्रमुख थेवेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सञ्चालन सदस्य पृथ्वी तिम्सिनाले गरेका थिए ।