अर्जुनधारा, झापा । झापाको पारिजात महिला फुटबल क्लब स्पष्ट जीतका साथ अर्जुनधारामा जारी एक नम्बर प्रदेशस्तरीय सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीलाई ४–० गोलले पराजित गर्दै झापा फाइनलमा पुग्न सफल भएको हो । विजयी टिमका लागि खेलको चौथो, १२औं र ६१औं मिनेटमा गोल गर्दै संरचना श्रेष्ठले ह्याट्रिक पूरा गरिन् ।

यो उनको दोस्रो ह्याट्रिक हो । उनले उद्घाटन खेलमा पनि धनकुटाविरुद्ध ह्याट्रिक गरेकी थिइन् । थप गोल खेलको ४८औं मिनेटमा सुनसरीकी सुस्मिता राईले आत्मघाती गोल गरेकी थिइन् ।

खेलको वूमन अफ दी म्याच विजेता टिमकी संरचना श्रेष्ठ घोषित भइन् । उनलाई झापा जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले नगद दुई हजारबाट पुरस्कृत गरे ।
बुधबार अन्तिम सेमिफाइनल खेल कनकाई नगर खेलकुद समिति झापा र कर्णसिंह सोनाम स्मृति स्पोर्टिङ क्लब ताप्लेजुङबीच हुनेछ ।

आयोजक प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीका अनुसार विजेताले नगद १ लाख १ हजार पाउनेछ ।