बिर्तामोड । झापा गोल्डकप आयोजक समितिले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सामाजिक संघसंस्थाहरुसँग छलफल गरेको छ ।

सोमबार बिर्तामोडमा आयोजक समितिले गोल्डकपको चौथो संस्करणका बारेमा बृहत छलफल गरेको हो । गोल्डकपको दिगोपना, सबैको सहभागितामा, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको थियो । यही फागुन १८ गतेदेखि झापा गोल्डकप सुरु हुँदैछ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आयोजक मजबुद भए प्रतियोगिता व्यवस्थित र सफल बन्ने धारणा राखे । ‘त्यसैगरी भविष्यको योजना स्पष्ट हुनुपर्छ’, उनले भने, ‘पारदर्शिता भयो भने अझ दीर्घकालीन हुनेछ ।’ नगर प्रमुख शिवाकोटीले नगरले गर्ने समपूर्ण सहयोग गर्ने, मुक्तिचोकदेखि रङ्गशालासम्म सडक व्यवस्थित बनाउनेलगायत प्रतिबद्धता जनाए ।

त्यस्तै, पूर्वसांसद सुधीरकुमार शिवाकोटीले गोल्डकपको आकर्षक अत्यधिक रहेकाले आयोजकको व्यवस्थापन मुख्य पाटो हुने बताए । उनले जिल्लाभरि प्रचार गर्दै त्यसका लागि राजनीतिक दल परिचालन हुनुपर्ने सुझाव दिए । कांग्रेस नेता देउमान थेवेले झापा गोल्डकप राम्रो र हाम्रो कसरी बनाउन सकिन्छ भनेर लागिपर्न आग्रह गरे । नेकपा नेता शिव ढुङ्गेलले गोल्डकपलाई स्थायित्व बनाउँदै परिस्कृत गर्न सुझाव दिए । राजपा नेता सूर्यनारायण गणेशले सबैले गोल्डकपलाई यो मेरो आफ्नै हो भन्ने सोच्न आग्रह गरे । त्यस्तै, सबै राजनीतिक दलहरुलाई समेट्न उनले सुझाव दिए ।

त्यस्तै, नेकपा बिर्तामोड नगर अध्यक्ष ज्ञानु प्रसाईं, अरुण श्रेष्ठ, कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला, राप्रपा बिर्तामोड नगर अध्यक्ष शंकर रिजाललगायत राजनीतिक दलका प्रतिनिधिले आआफ्नो सुझाव राखेका थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश राईले गोल्डकप अवधिभर सडकको चाप अझ व्यवस्थित हुने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, ट्राफिक प्रहरी निरीक्षक ढुण्डीराज गिरीले एकतर्फी बनाउन सक्दा सवारी साधनको चाप कम हुने सुझाव दिए ।
त्यस्तै, उद्योगी दिपेन्द्र पोखरेलले गोल्डकप झापाको गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे । एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेलले गोल्डकपको निरन्तरता आवश्यक रहेको र झापा गोल्डकपले जिल्लाभरिकै फुटबल प्रतियोगिताको नेतृत्व लिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा एकता युवा समाजका कर्मसिंह तामाङले प्याराफिट मजबुद बनाउन सुझाव दिए भने क्रिएटिभ नेप्लिज युथका अध्यक्ष रञ्जन धमलाले प्याराफिटको क्षमताअनुसार मात्र दर्शक प्रवेश गराउनुपर्ने बताए । उनले केही सन्देशमुलक कार्यक्रम पनि गोल्डकपसँगै गर्न सुझाव दिए । लायन्स क्लबका गौरीशंकर गुप्ताले पार्किङ व्यवस्थित बनाउन र भद्रपुररोडको समास्य हल गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति झापाका उपाध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, नेपाल अलैँची व्यवसायी महासंघका कोषाध्यक्ष सुवास भट्टराई, झापा उद्योग संघका उपाध्यक्ष दुर्गा भण्डारी, वीरता लेडी जेसीजकी अध्यक्ष सरु भूर्तेल, कञ्चना सिटौला, महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराई, बिर्तामोड साना सहरी खानेपानी उपभोक्ता संस्थाकी कोषाध्यक्ष राधा सुब्बालगायतले आआफ्नो धारणा राखेका थिए ।

छलफलमा चाहना समूहका सचिव मदन राईले गोल्डकपमा स्थानीय युवालाई जिम्मेवार बनाउन आग्रह गर्दै अपाङ्गता भएकाहरुलाई स्थान दिन सुझाव दिए । त्यस्तै, चारआली धाइजन भेट्रान फुटबल क्लबका अध्यक्ष आशिष बनले खेलाडी उत्पादनका लागि एकाडमी सञ्चालन गर्न जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा आयोजकको तर्फबाट सहजीकरण गर्दै झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले गोल्डकपमा सबैको अपनत्व होस् र यहाँका स्थानीय संघसंस्थाको पनि प्रत्यक्ष सहभागिता होस् भनेर छलफल आयोजना गरिएको बताए । त्यस्तै, उनले गोल्डकपको आकर्षण बढिरहेकाले यसलाई अझ व्यवस्थित बनाउन जरुरी रहेको बताए ।

त्यस्तै, झापा गोलडकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकप नेपालकै उत्कृष्ट फुटबल प्रतियोगिता भएकाले यसको निरन्तरता जरुरी रहेको उल्लेख गरे । त्यस्तै, गोल्डकपलाई स्थायित्व बनाउन समाजका सबै पक्षको समान सहभागिता आवश्यक रहेको उनको धारणा थियो । छलफलको संयोजन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।