अर्जुनधारा,झापा । लक्ष्मी बहुमुखी क्याम्पस बनियानीका बादल बुढाथोकी ४६औं सुखानी शहीद दिवसको सन्दर्भमा आज सम्पन्न भएको सामुदायिक क्याम्पसस्तिरय वकतृत्वकला प्रतियोगितामा प्रथम भएका छन् ।
सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालको आयोजनामा जिल्लाका १० वटा क्याम्पसको सहभागिता रहेको प्रतियोगितामा उनी ७५ अंक ल्याई प्रथम भएका हुन् ।
त्यसैगरी प्रतियोगितामा ७४ अंक ल्याउने वीरेन्द्र नमूना बहुमुखी क्याम्पस भद्रपुरकी मोना गौतम द्धितीय, ७३ अंक ल्याउने त्रिदेव बहुमुखी क्याम्पस चारआलीकी मुना मिश्र तृतीय र ६८ अंक ल्याउने गरामनी बहुमुखी क्याम्पस बिर्तामोडका दिपक गौतम चौथो भएका छन् । ‘समृद्धिको यात्रामा शहीदहरुको सपना’ शिर्षकमा सहभागीहरुले प्रस्तुती दिएको प्रतियोगिताका निर्णायकहरुमा चुँडामणी वशिष्ठ, पूण्यप्रसाद खरेल र लीलाप्रसाद अधिकारी रहेका थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चौथो हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश १० हजार, छ हजार, चार हजार र दुई हजार र प्रमाण पत्रसहित आगामी फाल्गुन २१ गते इलाम र झापा जिल्लाको सिमानामा रहेको सुखानी शहीद शहादतस्थलमा आयोजना हुने श्रद्धाञ्जली सभामा पुरस्कृत गरिने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेको अध्यक्षता र मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कमल गुरागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य सुखानी शहीद उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंक बरालले गरेका थिए ।
प्रतिष्ठानका सदस्य एवम् प्रदेश १का सांसद् वृख प्रधानलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा जागृती बहुमुखी क्याम्पसका हरिप्रसाद सँग्रौला, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानू श्रेष्ठ, पूर्व अध्यक्ष प्रकाश नेपाललगायतको आतिथ्यता रहेको थियो ।
सुखानी शहीद उद्यान व्यवस्थापन समितिको संयोजन रहेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका व्यवस्थापक तिवारीले गरेका थिए ।