झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ७ को पौडेल चोकदेखि दाहाल चोकसम्मको करिब ५ सय मिटर कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएको छ ।
सडक निर्माण उपभोक्ता समितिले शुक्रबार हिसाब सार्वजनिक गर्दै नगरको इस्टिमेटभन्दा बढी काम गरेको जनायो । समितिका सचिव समिर गिरीका अनुसार ४४० मिटर कालोपत्रे सडक निर्माणका लागि नगरको इस्टिमेट भए पनि ४८५ मिटर काम गरिएको दाबी गरे ।
वडा कार्यालयको २५ लाख र उपभोक्ताको ३ लाख ७५ हजार ६२२ रुपैयाँको लगानीमा निर्मित कालोपत्रे सडकको चौडाइ बेससहित ७ दशमलब ५ मिटर रहेको बताइएको छ । इस्टिमेटमा ५ दशमलव ५ मिटरको काम भएको उल्लेख छ ।
मंसिर १७ गतेदेखि काम सुरु भइ जेठ मसान्तसम्ममा सक्नुपर्ने भए पनि समितिले डेढ महिनाअघि काम सकेको हो । स्थानीय अगुवा युवराज पौडेलले अहिले नै आफ्नो गाउँमा कालोपत्रे सडक बन्ला भनेर नसोचे पनि स्थानीय सरकार बनेपछि सम्भव भएकोमा खुसी व्यक्त गरे ।
कालोपत्रे सडक हेर्न वा टेक्नका लागि बिरिङ खोला तरेर शनिश्चरे बजार पुग्नुपर्ने बाध्यता हटेको भन्दै उनले वडा कार्यालयलाई धन्यवाद पनि दिए । घरआँगनमै कालोपत्रे सडक निर्माण भए पनि दीर्घकालीनरुपमा लैजानका लागि सडकको दायाँबायाँ माटो पर्ने व्यवस्थ ागर्न स्थानीय कमलप्रसाद निरौलाको सुझाव छ ।
गतवर्ष स्तरोन्नति गरिएका सडकमा कालोपत्रेको काम भइरहेकाले बाँकी अन्य स्तरोन्नति गरिएका सडक पनि आफ्नो कार्यकालभित्र कालोपत्रे हुने वडाध्यक्ष नविन ढुंगानाको दाबी छ ।
प्राकृतिक प्रकोप आइ बिरिङ खोलाले गढी र नारायण चोकको पुल बगाएको खण्डमा दक्षिणलाई उत्तरतर्फ जोड्ने एकमात्र वैकल्पिक मार्गको रुपमा अहिले कालोपत्रे गरिएको सडक नै भएको उनको भनाइ छ ।
यो सडक ७ नम्बर वडाको मुख्य बाटो नै भएको बताउँदै यसले राजमार्ग जोड्ने लक्ष्मीपुर र यस सडकहुँदै इलाम पनि जोड्ने विकल्पको मार्ग भएको पनि सुनाए । उनले उपभोक्ता समितिको कामप्रति सन्तुष्ट व्यक्त गर्दै उपभोक्ता समितिमा रहेर आफ्नै लागि हो भन्ने भावना लिएर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रम समितिका अध्यक्ष दिलिप पौडेलको अध्यक्षतामा भएको थियो ।