फिदिम । प्रदेश सरकारले बजेट विनियोजन गरेपछि पाँचथरका दुई स्थानमा रहेको खेल मैदानको स्तरोन्नतिको काम सुरु गरिएको छ ।
पाँचथरको फिदिम नगरपालिका १० स्थित खलंगाटार माविको खेल मैदान र कुम्मायक गाउँपालिकास्थित पृथ्वी माविको खेल मैदानको स्तरोन्नतिको काम सुरु गरेको हो । यी दुई खेल मैदानको स्तरोन्नतिका लागि १ नम्बर प्रदेश सरकारले डेढ करोडभन्दा बढी रकम विनियोजन गरेको छ ।
पृथ्वी माविको मैदानलाई गाउँपालिकाले मर्मत सम्भार गरे पनि स्तरोन्नतिका लागि प्रदेश सरकारले थप रकम विनियोजन गरेको हो । यसका लागि ८५ लाखको बजेटबाट स्तरोन्नतिको काम भइरहेको छ ।
उपभोक्ता समितिमार्फत काम गरिँदै गरेको मैदान निर्माणका लागि स्थानीय तहले गत आवमा १७ लाख रुपैयाँ विनियोजन गरेको थियो । नाइन ए साइजको मैदानलाई एलेभेन ए साइजको मैदान बनाउन प्रदेश सरकारले थप बजेट विनियोजन गरेको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोले बताए । उनका अनुसार समितिले ६५ मिटर चौडाइ र १२० मिटर लम्बाइबराबरको काम गर्नेछ ।
यसैगरी, खलंगाटारमा रहेको इमानसिंह रंगशालाको स्तरोन्नतिका लागि प्रदेश सरकारले ८५ लाख रकम विनियोजन गरेको बताइएको छ । एलेभेन ए साइजको मैदान निर्माणका लागि विनियोजित बजेटबाट मैदानको लेवल मिलाउने र प्यारापिट बनाउनेजस्ता काम हुने बताइएको छ ।