झापा । आधूनिक र प्रविधिमैत्री रेफ्री उत्पादन गर्ने उद्देश्यले १ नम्बर प्रदेशस्तरीय एकहप्ते फुटबल रेफ्री तालिम आइतबारदेखि झापाको मेचीनगरस्थित काँकरभिट्टामा सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा झापा जिल्ला फुटबल संघको संयोजनमा ११ गतेसम्म चल्ने सो तालिममा १ नम्बर प्रदेशमा रहेका १० वटा जिल्लाका ४ महिलासहित ३३ जना सहभागी छन् ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा सुरु तालिमको एक कार्यक्रमबीच एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गरे । उनले कम उमेरमै दक्ष फुटबल रेफ्री उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । तालिममा १८ वर्षदेखि २५ वर्षका प्रशिक्षार्थी सहभागी छन् ।
फुटबल खेलेर फेरि रेफ्री बन्ने परिपाटीको अन्त्य गर्नका लागि पनि एन्फाले रेफ्री कोर्सको आयोजना गरेको उनको भनाइ थियो । नेपालको खेलकुद क्षेत्रलाई विश्वभर चिनाउन हरेक विधाका खेलको विकास र प्रवद्र्धनमा लाग्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले अब हरेक खेलाडी र निर्णायकले आफूलाई समयानुकूल परिवर्तन गर्र्दै लैजानु पर्नेमा जोड दिए । फुटबल खेलको मेरुदण्डको रुपमा रहेका रेफ्रीहरु योग्य भए फुटबल प्रतियोगिता सफल हुने पनि उनले विश्वास व्यक्त गरे ।
रेफ्रीको सही निर्णयबाट सिंगो प्रतियोगिता सञ्चालन हुने बताउँदै उनले खेलाडीलाई मात्र नभएर दर्शकलाई पनि संयम बनाएर राख्ने क्षमता रेफ्रीमा हुने सुनाए । कुशल प्रशिक्षक आएकाले तालिम उपलब्धीमुलक बन्ने आशा व्यक्त गर्दै उनले सहभागीलाई तालिमपछि रेफ्री बनेर व्यावसायिक बन्न पनि आग्रह गरे ।
मुख्य प्रशिक्षक पूर्व फिफा रेफ्री लव खत्रीले अब खेलसँगै अध्ययनलाई पनि अघि बढाउन प्रशिक्षार्थीलाई आग्रह गरे । अध्ययन र प्रविधिलाई पछ्याउन सकिएन भने अघि बढ्न नसक्ने खत्रीको भनाइ थियो । कम्तिमा एसईई गरेका व्यक्ति रेफ्रीको न्यूनतम योग्यता हुनुपर्ने पनि उनले बताए ।
रेफ्रीले कम्तिमा फुटबल खेलका १७ वटा अन्तर्राष्ट्रिय नियम जान्नै पर्ने जिकिर गरेका उनले खेल सञ्चालन गरिरहँदा थोरै भए पनि सामान्य बोलचालको अंग्रेजी भाषा प्रयोग गर्न सुझाए । सहभागीलाई विशेष आग्रहका साथ भने, ‘रेफ्रीका लागि फिटनेशमा ध्यान दिनु जरुरी छ, यसलाई सधैँ कायम राखौँ ।’
कार्यक्रममा नाइट चेस क्लब काँकरभिट्टाका अध्यक्ष नवराज खनिया, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले बोलेका थिए । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतले सञ्चालन गरेको उद्घाटनसत्रमा सहभागी सबैलाई उपाध्यक्ष मनेष दाहालले स्वागत गरेका थिए ।
प्रशिक्षकका रुपमा खत्रीसहित फिफा असिस्टेन्ट रेफ्री रेजिन श्रेष्ठ, पूर्व फिफा असिस्टेन्ट रेफ्रीहरु मधुसुदन खनाल र शैलेस जोशी छन् । उनीहरुले प्रशिक्षार्थीलाई व्यवहारिक र सैद्धान्तिक ज्ञान दिने बताइएको छ ।