फिदिम । मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ ।

मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ ।

माखिमको शव झुण्डिएको अवस्थामाभेटिएको थियो । खुकुरी रगतले लतपतिएको अवस्थामा रहेकोले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागिएको छ ।

माखिमलाई यसअघि हत्यामा संलग्न भएको प्रहरीले प्रारम्भिक निकालेको थियो । शंकाको घेरामा रहेका माखिम करिब ७ किलोमिटरको दूरीमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।