बिर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर बिर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं. ७ विजयी भएको छ ।
वडा नं. ७ ले वडा नं. १० लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै गणतन्त्र दिवसको दिन बुधबार सम्पन्न हुने फाइनलमा वडा नं ४ सँगको भेट पक्का गरेको हो । आइतबार पहिलो सेमिफाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई पाखा लगाएको थियो ।
स्थानीय डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न उपाधिको दाबेदार मानिएको वडा नं. १० लाई वडा नं. ७ ले सहजै पराजित गरेको थियो । खेलको म्यान अफ दी म्याच विजयी टिमका केसिङजङ लिम्बू घोषित भए ।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरी एउटा सशक्त नगरस्तरीय टिम तयार गर्ने उद्देश्यले जारी प्रतियोगितामा दर्शकको संख्या पनि बढ्दै गएको समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिए ।
मंगलबार बिहान ८ बजेदेखि करातेका खेलहरु हुनेछन् भने बुधबार बिहान मिनी म्याराथन र दिउँसो फुटबलको फाइनलसँगै शिल्ड तथा पुरस्कार वितरणसहित नगरस्तरीय खेलकुद सम्पन्न हुने आयोजक समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले जानकारी दिए ।