काठमाडौं । मलेसियाले घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा २ गोल थप्दै मलेसियाले सहज जित दर्ता गरेको हो ।

डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मलेसियाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सफावीले गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

नेपालका लागि ५८ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा उनले सट प्रहार गर्न ढिला गर्दा डिफेन्डर सहरुल सादले उत्कृष्ट ट्याकल गरेका थिए । ७४ औं मिनेटमा किरणले मलेसियाको अर्को आक्रमण विफल पारेका थिए ।

८१ औं मिनेटमा मलेसियाले अग्रता दोब्बर पार्यो । झन्डै २५ यार्ड टाढाको फ्रिकिकमा आएको क्रसलाई अनामार्क रहेका सहरुल सादले सहजै गोलमा परिणत गरे । त्यसपछि गोल हुन नसक्दा नेपाल २-० ले पराजित भयो ।

खेलको ६४ औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै अभिषेक रिजालले राष्ट्रिय टोलीबाट डेब्यु गरे । प्रशिक्षक कालिनले नियमित खेलाडीलाई विस्थापित गर्दै ६० औं मिनेटपछि लगातार खेलाडी परिवर्तन गरेका थिए ।

त्यसअघि पहिलो हाफको सुरुवाती समयदेखि नै मलेसियाले नेपालमाथि दबाब बनाएको थियो । पहिलो मिनेटमा नै डरलाग्दो स्थानमा फ्रिकिक पाएको मलेसियाले त्यसको सदुपयोग गर्न सकेन । पाँचौ मिनेटमा मलेसियाका स्याज्वन जाइननको प्रहारले गोलरक्षक किरणलाई बिट गरेपनि पोस्टमा लाग्न पुग्यो ।

खेलको २८ औं मिनेटमा नेपालका विक्रम लामाको प्रहार पोस्टमा लागेको थियो । गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा विक्रमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै पोस्टमा लाग्दा नेपालले अग्रता लिन सकेन । त्यसपछि मलेसियाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको दुई प्रहारलाई किरणले विफल तुल्याए । पहिलो हाफको खेलको एक मिनेट समय बाँकी हुँदा किरणले बचाउ गरेको प्रहार रिबाउन्ड हुँदा रंजितले गोललाइनबाट क्लियर गर्दै खतरा टारेका थिए ।

प्रशिक्षक योहान कालिनले जिम्मेवारी सम्हालेयता नेपालको यो तेस्रो खेल हो । कुवेतविरुद्ध यसअघि एक गोलरहित बराबरी र १-० को हार भोगेको नेपालले तीन खेल सकिँदासम्म गोल गर्न सकेको छैन । नेपालले अब बिहीबार हुने मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइको सामना गर्नेछ ।