मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण-पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज-मेदनी खरेल प्रतिष्ठान एक ठाउँमा मर्ज भएपछि पहिलो पटक भानु जयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम भएको छ ।

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्म जयन्तीका अवसरमा शनिबार झापाको मेचीनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको वृहद साहित्य गोष्ठी सम्पन्न गरेको छ । यसवर्ष प्रतिष्ठानले झापाको मेचीनगरमा असार २७, २८, र २९ विविध कार्यक्रमका साथ भानु जयन्ती मनाउने निर्णय अनुसार कविगोष्ठी आयोजना गरेको हो । काँकरभिट्टा क्याम्पस परिसरमा सम्पन्न कवि गोष्ठीमा स्वदेश एवम् विदेशका दुई दर्जनबढी स्रष्टाले आ आफ्ना रचना पाठ गरेका थिए ।

कवि गोष्ठीका प्रथम, दोस्रो, तेस्रो तथा सान्तवना हुने स्रष्टाले नगद क्रमस नगद १० हजार ७ हजार ५ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उनीहरुको नाम आइतबार भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा घोषणा गरिने छ । कवि गोष्ठीमा साहित्यकार विनोदराज खनालको नेतृत्वमा तीन सदस्यीय निर्णयक मण्डलले निर्माण गरिएको छ । निर्णयक मण्डलका अन्य सदस्यहरुमा कोमलप्रसाद पोखरेल र विजय खरेल थिए ।

कविगोष्ठी प्रमुख अतिथि भाषाविद एवम् वरिष्ठ साहित्यकार चुडामणि रेग्मी तथा विशिष्ट अतिथि साहित्यकार सरोज ओलीको उपस्थितीमा सम्पन्न भएको हो । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार जय आचार्यले गरेका थिए । यसअघि मेचीनगर क्षेत्रभित्रका माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी, प्रतिष्ठानले नगरभित्रका क्याम्पस स्तरीय प्रतियोगितात्मक कवि गोष्ठी सञ्चालन गरेको छ । प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सवैको नाम आइतबार सार्वजनिक गरिने बताइएको छ ।
आज भानु जयन्तीका दिन प्रभातफेरी, काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिक, देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटााको पूर्णकदको शालिक तथा बलिहाङको शालिकमा माल्यपर्णसहित मन्तव्य तथा पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिएको प्रतिष्ठानका अध्यक्ष उप्रेतीले जानकारी दिए ।

यस वर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा भानु साहित्यिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने नगद १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार भानु जयन्तीका अवसरमा प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताए ।

भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशि नगद १५ हजार रुपैयाँसहित कदरपत्र रहेको छ । यी दुई पुरस्कार भानु साहित्यिक प्रतिष्ठानले स्थपना गरेको हो ।

यसैगरी ५१ हजार रुपैयाँ राशिको धनमाया–पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा सोही धनराशिको टीकाराम जानुका खरेल साहित्यिक पुरस्कार स्रष्टा राम धामीलाई प्रदान गरियो । धनमाया-पवित्रा स्मृति पुरस्कार, कृष्ण-पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम जानुका खरेल स्मृति पुरस्कार हेमराज–मेदनी खरेल प्रतिष्ठानले आफ्ना बाबुआमाको नाममा स्थापना गरेका हुन् ।