झापा । प्रदेश नम्बर १ मा सबैभन्दा बढी वैदेशिक रोजगारी जानेमा झापाका युवाहरु रहेका छन् । नेपाल राष्ट्र बैंक विराटनगरस्थित कार्यालयले गरेको अनुसन्धानमा झापाबाट सबैभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको देखिएको हो ।

कार्यालयकाअनुसार प्रदेशका १४ जिल्लामध्ये आर्थिक वर्ष २०७४/०७५ मा वैदेशिक रोजगारीमा झापा जिल्लाबाट १५ हजार ५ सय ११ जना गएका छन् । त्यस्तै सबैभन्दा कम सोलुखुम्बु जिल्लाबाट १ हजार २ सय ५५ जना छन् । प्रदेशका १४ मध्ये वैदेशिक रोजगारीमा जाने मुख्य ५ जिल्लामा झापा, सुनसरी, मोरङ, खोटाङ र उदयपुर छन् । कम जानेमा सोलुखुम्बु, ओखलढुङ्गा, तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ छन् ।

वैदेशिक रोजगारीको मुख्य गन्तव्य मलेसिया, कतार, दुबई र साउदी अरब रहेको बैंकको अध्ययनमा देखिएको छ।

प्रदेशमा २०७४/०७५ को असार मसान्त सम्ममा ७८ हजार ४ सय ६ जना वैदेशिक रोजगारमा गएको पाइएको छ । उक्त सङ्ख्या प्रदेशको सक्रिय जनसङ्ख्याको २ दशमलव ९६ प्रतिशत भएको बैंकको निष्कर्ष छ ।

त्यस्तै आव २०७५र०७६ को फागुनमसान्तसम्ममा यस प्रदेशमा विप्रेषण आप्रवाह २३ दशमलव ४ प्रतिशतले वृद्धि भई ५ खर्ब ८२ अर्ब १९ करोड पुगेको छ ।

प्रदेशका ३० प्रतिशत जनता कृषि पेशामा र आर्थिक रूपमा सक्रिय जनसङ्ख्या ५८ दशमलव ४ प्रतिशत भएको बताइएको छ ।
प्रदेशमा लैङ्गिक अनुपातको अनुसन्धान गर्दा १ सय महिलामा ९१ दशमलव ५ प्रतिशत पुरुष छन् ।

लैङ्गिक अनुपातको फरक सबैभन्दा बढी ओखलढुङ्गा र तेह्रथुम जिल्लामा पाइएको छ । दुबै जिल्लामा १ सय महिलामा ८७ पुरुष भएको भेटिएको छ । त्यस्तै सबैभन्दा कम अनुपात सुनसरी र इलाम जिल्लामा छ । दुबै जिल्लामा १ सय महिलामा ९५ पुरुष रहेको अध्ययनले पत्ता लगाएको छ ।

यसैगरी प्रदेशमा आव २०७५/०७६ को चैत मसान्त सम्ममा खाद्यान्न वचत भएको छ । उक्त अवधिमा कुल खाद्यान्न उत्पादन १३ लाख ५९ हजार मेट्रिक टन र उपभोग ८ लाख ९९ हजार मेट्रिक टन रही वचत ४ लाख ६० हजार मेट्रिक टन छ । प्रदेशका तराईका ३ जिल्ला झापा, मोरङ र सुनसरी पूर्वका अन्न भण्डार मानिन्छन् ।

प्रदेशको पूर्वी क्षेत्रमा इलामको सुन्दरता, श्रीअन्तुको सूर्योदय र ताप्लेजुङको पाथिभरा यस प्रदेशका मुख्य पर्यटकीय गन्तव्य हुन् ।

त्यस्तै पश्चिममा सप्तकोशी नदी, कोसी टप्पु वन्यजन्तु आरक्ष र उत्तरमा सर्वोच्च शिखर सगरमाथालगायतका हिमाली क्षेत्र पनि चर्चित गन्तव्यमा पर्छन् ।

पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्यप्रदेश नम्बर १ मा भारतीय पर्यटक नै बढी आएको पाइएको छ । प्रदेशमा गत आवमा भारतबाट १ लाख २२ हजार र तेस्रो मुलुकबाट १९ हजार ३३६ पर्यटक आएको अध्ययनले देखाएको छ । प्रदेशका ९ जिल्लाका १४ वटा विमानस्थलमा १० वटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।