झापा । बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले विभिन्न सहकारीले उत्पादन गरेका उपभोग्य सामग्री समेटेर सहकारी पसल सञ्चालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको सहकारी पसल नेपालमै पहिलो भएको दाबी गरिएको छ ।

बिर्तामोडमा रहेको एकमात्र उपभोक्ता सहकारी विराट अर्जुनले विभिन्न आठ वटा सहकारी संस्थाले उत्पादन गरेका खाद्य सामग्री सहकारी पसलमा बिक्रीका लागि राखेको छ । संस्थाको १०औँ स्थापना दिवसको अवसर पारेर सञ्चालनमा ल्याएको उक्त पसलको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, ४ नम्बर वडाध्यक्ष कुलप्रसाद संग्रौला र नगरका सहकारी तथा सामाजि विभागका अधिकृत डिल्ली दाहालले रिबन काटेर संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले यस्ता सहकारी पसल सञ्चालनमा ल्याइएपछि आफ्नै लगानीमा पसल चलाउन सकिने रहेछ भन्ने अनुभूति दिलाएको बताए । तर, वित्तीय क्षमता सक्षम भएपछि मात्रै व्यवसायमा हात हाल्नुपर्ने उनको सुझाव थियो । त्यस्तै, वडाध्यक्ष संग्रौलाले सहकारी खोल्न सजिलो तर चलाउन गाह्रो रहेको भन्दै नगरले सहकारीका लागि राम्रो योजना ल्याएको दाबी गरे ।

विराट अर्जुनले सहकारीको ट्रेडमार्कलाई उपभोक्तासम्म पुर्याउने लक्ष्य अनुशरणयोग्य रहेको भन्दै योजना कार्यान्वयनको पाटोमा मिहेनत गर्न उनले सुझाव दिए । सहकारी अधिकृत दाहालले बाँकी कारोबार नगर्न सुझाव दिए ।

नगरमा सहकारीमैत्री ऐन बनेको भन्दै उनले राम्रो काम गरे नगरले सहयोग गर्ने आश्वासन पनि दिए । ऐनअनुसार उपभोक्ता सहकारीले ७० प्रतिशत बचतको कारोबार गर्दै ३० प्रतिशत अनिवार्यरुपमा पसलमा लगानी गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा एनएमसी बिर्तामोडका प्रमुख पारसचन्द्र भट्टराईले पनि आफ्नो भनाइ राख्दै पसल सञ्चालनको शुभकामना दिएका थिए ।

‘सहकारीको उत्पादन, सहकारी मार्फत् बजारीकरण’ भन्ने आव्हानका साथ संस्थाले औपचारिकरुपमा सहकारी पसल सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष नविन खरेलले बताए । सहकारी पसलमा सहकारीबाट उत्पादित उपभोग्य वस्तुहरुमात्र राखिएको उनको भनाइ छ ।

उक्त पसलमा मेची कृषक बहुमुखी सहकारी इँटाभट्टको चामल, सतासी महिला मौरीपालन सहकारी दूधेको मह, महारानीझोडा साना किसान कृषि सहकारीको अचार राखिएको छ । त्यस्तै, शुभ चिया किसान सहकारी बाहुनडाँगीको चिया रङ, जुनतारा महिला कृषि सहकारी डाँगीबारीको उत्पादन तोरीको तेल तथा परोपकार साकोस सहकारी बिर्तामोडको अचार पनि बेच्न राखिएको छ

त्यस्तै महिला चेतना बहुउदेस्यीय सहकारी संस्थाको बेसार र युरिया मलासेस ब्लक, साना किसान चिया उत्पादक सहकारी हल्दिबारीको चिया, आफ्नै संस्थाका सदस्यद्वारा उत्पादन गरिएको कोदो र फापरको पिठोसमेत राखिएको छ ।

चाँडै नै झापा जिल्ला तथा समग्र १ न प्रदेशमा रहेका उत्पादकमुलक सहकारीसँग समन्वय गरी विभिन्न उत्पादनहरु समेतको ब्यबस्थापन गरिने अध्यक्ष खरेलले बताए । यस्तै, एनएमसीको डेरी प्रोडक्टसँग कुरा भइसकेकाले चाँडै नै उक्त संस्थाको उत्पादन पनि राखिने संस्थाले जनाएको छ ।

२०६६ साल साउन १३ गते डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता भएको सो संस्थाले स्थापनाकालमा पनि उपभोक्ता भण्डार सञ्चालन गरेको थियो । तर, व्यावसायिक दक्षताको अभावमा लाखौं रुपैयाँ घाटा भएपछि बन्द गरिएको थियो ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ कार्यान्वयनमा आएपछि उपभोक्ता सहकारीले गर्ने विषयगत जिम्मेवारीलाई आत्मसात गर्न पुनः सहकारी पसल सञ्चालन गर्नुपरेको अध्यक्ष नबिन खरेल बताउँछन् । खरेलले भने, ‘हामीले वस्तुको व्यापार गरेर नाफा कमाउनेभन्दा पनि सहकारी संस्थाहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरुको प्रवद्र्धन एवम् बजारीकरणमा मद्दत गर्न यस्तो कार्यक्रम अघि सारेका हौं ।’

‘सहरी उपभोक्ताहरु गुणस्तरीय खाद्यवस्तुको अपेक्षा राखिरहेका हुन्छन् तर शुद्ध एवम् गुणस्तरीय वस्तु कहाँ किन्न पाइन्छ भन्ने अन्यौलको अवस्थामा हामीले सहकारीको मात्र उत्पादन राखेर पसल सञ्चालन गर्ने योजना बनाएका हौं’, उपाध्यक्ष यादबकुमार ओलीले प्रष्ट पारे ।