झापा । नगर क्षेत्रमा रहेका उद्योगी, व्यवसायीहरुको व्यावसायिक हक र अधिकारको संरक्षण गर्न, गराउनका लागि चेम्बर अफ कमर्श अर्जुनधाराको तदर्थ समिति गठन भएको छ ।

स्थानीय व्यवसायी तथा शनिअर्जुन उद्योग वाणिज्य वाणिज्य संघका पूर्व उपाध्यक्ष पुष्पप्रसाद रेग्मीको संयोजकत्वमा चेम्बर अफ कमर्श अर्जुनधाराको तदर्थ समिति गठन भएको हो । ११ सदस्यीय समितिमा प्रकाश श्रेष्ठ, राजु घिमिरे, योगेन्द्र पौडेल, राजु दाहाल, विनोद खाती, विनोद पाँचकोटी, विदुर शाह, रघुनाथ प्रसाद गुप्ता, विमल भट्टराई, रञ्जन देवकोटा सदस्य रहेका छन् ।

स्वच्छ व्यापार व्यवसाय सञ्चालन गर्न एवम् उद्योग व्यवसाय र व्यावसायिक दक्षता विकास विकास गर्न, गराउने उद्देश्यले खान्की भ्यू प्वाइन्टमा सोमबार भएको भेलाले रेग्मीको संयोजकत्वमा तदर्थ समिति गठन भएको हो ।

तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक रेग्मीले व्यवसायीको हक हितका लागि स्थानीय सरकारसँग कसरी हातेमालो गर्ने भन्ने विषयमा द्विविधा देखिएकाले चेम्बर अफ कमर्श अर्जुनधारा गठन गर्नु परेको बताए ।

स्थानीय सरकारसँग साझेदारी कार्य गर्दै नितान्त व्यावसायिक हितका लागि संगठनको आवश्यकता परेकाले पनि समिति गठन गरिएको उनको भनाइ थियो । यसअघि गठन भएको शनिअर्जुन उद्योग वाणिज्य संघले व्यवसायीको हितमा काम नगरी राजनीतिक काम गरेको सबै व्यवसायीले अनुभूत गरेकाले यो संस्था खोल्नु परेको उनको स्पष्टीकरण थियो ।

‘पान दर्ता, संस्था नविकरण, ढक तराजुको परीक्षणजस्ता अनिवार्य कामलाई वाणिज्य संघले बेवास्ता गरे’, संयोजक रेग्मीले भने, ‘स्थानीय बजारको उन्नति, व्यवासयीको हित गर्ने काम गरेनन्, अरुलाई पनि गर्न दिएनन् ।’ अब आग्रह पूर्वाग्रहको भावनाले अघि नबढ्ने प्रतिवद्धता जनाएका उनले अब हातेमालो गरेर अघि बढ्ने बताए ।

राजनीतिक आस्थालाई टाढा राखी व्यावसायिक हितमा ध्यान राखेर अघि बढ्ने दाबी गरेका उनले पहिलो काम विधान निर्माण गर्ने रहेको बताए । न्यूनतम सदस्यता शुल्क तोकेर अघि बढ्ने सोच बनाएको समितिले बजार क्षेत्रमा इकाइ गठन गर्ने पनि लक्ष्य लिएको उनको भनाइ थियो ।

स्थानीय सरकारसँग साझेदारी कार्यक्रम गर्न हातेमालो गर्ने, नगरको पनि धारणा बुझ्ने र नगरले चालेको गौरवको योजनालाई सफलिभूत पार्न महत्वपूर्ण कार्य रहने संयोजक रेग्मीले बताए ।

समितिका सदस्य योगेन्द्र पौडेलले शनिअर्जुन उद्योग वाणिज्य संघले अहिलेसम्म केही काम नगरेको, राजनीतिक रंगमात्र देखा परेको भन्दै विशुद्ध व्यावसायिक उद्येश्यले समिति गठन गर्नु परेको दोहोर्याए ।

न्यून शुल्कमा सदस्यता विस्तार गर्ने योजना रहेको जानकारी दिँदै ३१ जना व्यापारीको भेलाले समिति गठन गर्ने निर्णय गरेको उनले बताए ।