झिलझिले । समाजका विद्यमान सम्भावित अपराधलाई नियन्त्रण गर्न नेपाल प्रहरीले देशैभर समुदाय-प्रहरी-साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम सञ्चालन भएपछि झापामा भने अपराध घटेको र अपराधका सूचना तत्काल पाइन थालेको जिल्ला प्रहरी कार्यालय झापाले दाबी गरेको छ ।

समुदायलाई प्रहरी कार्यालयमै बोलाएर ‘प्रहरीसँग एक दिन’ कार्यक्रम जिल्लाका हरेक प्रहरी कार्यालयमा सञ्चालन भइरहेका छन् । जसका कारण समाजमा हुने अपराधका तु इन्फरमेसन आउन थालेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । ‘अपराध पनि तुलनात्मकरुपमा घटेकै छ’, प्रहरी उपरीक्षक मैनालीले भने, ‘यो सबै प्रहरीसँग एक दिन कार्यक्रमको उपलब्धि हो ।’

आइतबार इलाका प्रहरी कार्यालय झिलझिलेले यस्तै चेतनात्मक कार्यक्रम आफ्नै परिसरमा गर्यो । यसअघि स्थानीय सेभेनसीज, पशुपति बोर्डिङ्ग र झिलझिले माविका छात्रछात्रालाई बोलाएर प्रहरी कार्यालयबाट प्रदान गरिने नागरिक सेवासुविधाका बारेमा जानकारी दिइएको थियो भने आइतबार दूधेको धु्रवतारा अंग्रेजी माध्यमिक विद्यालयका कक्षा ९ र १० का ७५ जना विद्यार्थीलाई पाहुना बनाएर प्रहरीले गर्ने कामका बारेमा जानकारी गराएको थियो ।

प्रहरी, समुदाय, स्थानीय तह साथै विद्यालयको समन्वयात्मक भूमिकाबाट समाजका विकृति विसंगतिहरु मुक्त पार्ने कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रममा विद्यार्थीहरुलाई प्रहरी सेवा प्रवाहको प्रणाली, प्रहरी सेवाको किसिम साथै प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा र समुदाय प्रहरी साझेदारी लगायतका विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले प्रस्ट्याएका थिए ।

समाजमा हरेक कारणबाट अपराध घट्न सक्ने र विद्यार्थी सूचनाको विश्वासिलो श्रोत भएकाले हरेक विद्यालयका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइएको प्रहरी निरीक्षक ठाकुरले बताए । समाजमा दिनहुँ हुने कुटपिट, लुटपाट, लागुऔषध सेवन तथा त्यसको ओसारपसार, बलत्कार, गाईगोरुको तस्करी, सवारी दुर्घटना लगायतका अपराध समाजमा भए गरे प्रहरीलाई तत्काल सूचना दिन उनले विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘तपाईहरु पनि प्रहरी नै हो, मात्र फरक मैले नेपाल प्रहरीको बर्दी लगाएको छु, तपाईहरुले लगाउनु भएको छैन ।’

इलाका प्रहरी कार्यालय झिलझिलेको कर्मचारी प्रशासन शाखा, सञ्चार शाखा, हिरासत कक्ष, नागरिक सुनवाई कक्ष, प्रहरी प्रमुखको कार्यकक्ष, खाना खाने मेस, दुर्घटनाका सवारी साधन, हातहतियार कक्ष, प्रहरी बस्ने ब्यारेक लगायत विद्यार्थीलाई प्रत्यक्ष देखाइएको थियो ।

भोलिको समाजलाई दिशानिर्देश गर्ने समाजका विभिन्न तहमा रहेका वर्गलाई उनीहरुको सामाजिक उक्तरदायित्वप्रति समेत जानकार र सचेत बनाउनु आवश्यक रहेकाले उनीहरुलाई प्रहरी कार्यालयमा नै बोलाएर जानकारी गराइएको प्रहरी निरीक्षक ठाकुरले बताए ।

प्रहरी कार्यालयमा पहिलो पटक आएका कक्षा १० का विद्यार्थी निसान भट्टराईले प्रहरीसँगको एक दिन कार्यक्रम फलदायी बनेको बताए । समाजमा हुने हरेक प्रकारका अपराध निर्मूल पार्न आफ्नो पनि भूमिका रहेछ भन्ने प्रहरी कार्यालयमा आएर बुझेको उनको भनाइ छ । ‘हरेक अपराध निन्त्रणका लागि हाम्रो भूमिका सकारात्मक रहनेछ’, उनले भने, ‘प्रहरीसंग छिन होइन एक दिन बस्ने कार्यक्रम रहेछ ।’

उक्त कार्यक्रमका प्रहरी नायव निरीक्षकद्वय डम्बरप्रसाद आचार्य, दिपेश राजवंशी, प्रहरी सहायक निरीक्षक टंक खत्री, ट्राफिक प्रहरी सहायक निरीक्षक रोहितकुमार थापा लगायतले विद्यार्थीलाई विषयगत कक्षको स्थलगत निरीक्षण गराउँदै चेतनामुलक जानकारी गराएका थिए ।