गोपाल झापाली,
झापा । झापाको दमकमा खपत हुने खसी-बोका पूर्वी पहाडी जिल्लाबाट आउने गरेका छन्। इलाम र पाँचथरका दक्षिणी क्षेत्रसँगै मोरङको पूर्वोत्तर क्षेत्रका खसी बाख्राको मुख्य बजार पनि दमक नै हो। यतिले पनि माग धान्न नसक्दा भारतबाट आयातीत खसी-बोकाले पनि यहाँको मासु खपत धान्न सहयोग पुग्थ्यो। तर, व्यवसायीका अनुसार केही समययता भारतबाट खसी-बोका आयात हुने क्रम रोकिएको छ। जसका कारण यहाँ माग धान्नै धौधौ भएको छ।

झापाका मासु व्यवसायीका अनुसार मेची र कोशीका पहाडी जिल्लाहरूबाट आउने खसी-बोका नै बजारमा खपत भइरहेको छन्। यस्तै तराइका जिल्लाहरूमा पनि व्यावसायिक पालन बढेसँगै स्थानीय किसानका खसी-बोकाले भाउ पाएका छन्। तर, भारतबाट आयात हुने क्रम न्यून भएको र स्थानीय उत्पादन समेत काठमाडौंका व्यापारीले लैजान थालेपछि झापामा मासुको माग धान्नै कठिन भएको व्यवसायी बताउँछन्।

काठमाडौं जान थालेपछि अभाव

दमकमा पाँचथरको रवि, मोरङको लेटाङ, सुनसरीको धरान, झापाको धुलाबारी, गौरादह, बालुबथान लगायतका ठाउँबाट खसीबोका ल्याइने गरेको मासु व्यापारीले बताएका छन्। तर यि ठाउँबाट आउने खसीबोका पनि काठमाडौंका व्यापारीले बढी मूल्य तिरेर लैजाने गरेका कारण खसीबोकाको अभाव हुन थालेको व्यवसायीको तर्क छ।

काठमाडौंमा खसीको मासु महँगो भएको र त्यहाँका व्यवसायीले दमकका मासु व्यवसायीको भन्दा बढी मूल्य तिरेर झापाबाट खसीबोका काठमाडौं लगि रहेका छन्। ‘हामीले दिएको भन्दा बढी मूल्य दिएर काठमाडौंका व्यापारीले खसीबोका लान्छन्’, झापा जिल्ला मासु व्यवसायी संघका उपाध्यक्ष राजेन्द्रकुमार खड्गी भन्छन्, ‘पहिले भारतबाट खसीबोका आउँथे। अहिले त्यो पनि छैन। खसीबोकाको अभाव खड्किन थालेको छ।’

त्यसैले खसीबोकाको मूल्य अझै बढ्न सक्छ।’ विगत एक वर्षदेखि खसीको मूल्य प्रतिकेजी ७५० रुपैयाँ छ। तर, काठमाडौंका व्यापारीले जिउँदो खसीको प्रतिकेजी ८ सय रुपैयाँ तिरेर यहाँबाट लैजाने गरेका छन्। उनीहरूले काटेको मासु प्रतिकेजी १३ सयमा बेच्छन्।

तर, दमकमा भने विगत एक वर्षदेखि मूल्य बढाउन नसकिएको हुँदा केही महिना भित्रमा खसीबोकाको मूल्यमा वृद्धि हुन सक्ने व्यापारी सुन्दर खड्गी बताउँछन्। दमक ६ मा रहेको मासु बजारमा अहिले १९ वटा मासु पसल छन्। सुन्दरले आफूहरुले हाल दैनिक ४-५ वटा खसी काट्ने गरेको र चाडपर्वका समयमा यो संख्या बढेर १५ वटासम्म पुग्ने गरेको बताए।

खसीको माग सदाबहार

अन्य मासुभन्दा दमकमा कुखुराको मासुको खपत उच्च देखिएको छ। तर खसीको मासुको कारोबार भने सदाबहार रहेको व्यवसायीको भनाई छ। पसलको संख्या बढेसँगै प्रति पसल खपत घटे पनि बजारमा भने कुल माग बढिरहेको उनीहरु बताउँछन्। खसीको मासुको मूल्य उपभोक्ताहरुका लागि महंगो भएपनि हरियो सागसब्जीको तुलनामा महंगो नभएको उनको भनाई छ।

२० रुपैयाँ किलो पर्ने भिन्डीको सब्जीलाई अहिले बजारमा १ सय रुपैयाँ पर्छ। सब्जीमा पाँच गुणा बढी मूल्य बढेको छ। तर, खसीको मासुको मूल्य एक वर्षदेखि स्थिर नै रहेको छ। सो मासु बजारमा कुखुरा, माछा, हाँस पनि काटेर बेच्ने गरिएको छ। संघमा हाल झापाका करिव ३ सय जति मासु व्यापारीहरु आवद्ध भएको तर दर्ता नभएका गरी जिल्लामा २ हजार मासु व्यापारीहरू रहेको संघका उपाध्यक्ष राजेन्द्र खड्गी बताउँछन्।

स्वच्छतामा प्रश्न

घरायसी खपतसँगै होटल तथा रेष्टुरेन्टमा समेत मासुको खपत उच्च हुने गरेको छ। यो साउन महिनामा केहीले मासु नखाने व्रत लिए पनि अन्य समयमा भने कारोबार अधिक हुन्छ। तर दमकमा मासु व्यवसायमा स्वच्छता र सरसफाइको प्रश्न सधैं उठ्ने गरेको छ। मासुलाई धुलो नपस्ने, झिंगा नभन्किने गरी छोपेर बेच्नुपर्ने, बध गर्ने स्थानमा बिक्री गर्न नपाइने, बध गरिने पशुको स्वास्थ्य ठीक हुनु पर्ने जस्ता नियम भए पनि खुला ठाउँमा नै बिक्री हुने क्रम रोकिएको छैन।

स्वास्थ्यका दृष्टिकोणले समेत यसरी खुला ठाउँमा, पानी बग्ने नालामाथि तथा आसपासमा बध गरिने र बिक्री गरिने मासु उपयुक्त नहुने स्वास्थ्यकर्मी बताउँछन्। स्वाद र पोषणका लागि खाइने मासु अस्वस्थकर भएमा मानिसमा तत्काल र दीर्घकालीन रुपमा बिभिन्न समस्या देखिन सक्ने डा।नविन चापागाँईले बताए।

उपभोक्ता हित संरक्षण मञ्च दमकका अध्यक्ष समेत रहेका उनले मासुको व्यवसायलाई व्यवस्थित बनाउन स्थानीय सरकारले तदारुकता देखाउने पर्ने बताए। यस्तै उपभोक्ताले पनि स्वच्छ र सफा स्थानमा मात्र मासु खरिद गर्ने बानी गरे व्यवसायीमा रहेको अस्वस्थकर बानी कम हुँदै जाने उनको भनाई छ। थाहा खबरबाट