विनोद सापकोटा,
झापा । झापामा करोडौको लगानीमा सरकारले तोकेको मापदण्ड अनुसारको पानी उद्योग सञ्चालनमा आएको छ । गएको असार १४ गतेदेखि झापालगायत पूर्वका बजारमा गर्मी बढेसँगै नयाँ उद्योगबाट उत्पादित पानीको माग पनि बढेको उद्योगका सञ्चालकले बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको पाडाजुँगी दक्षिण दुई किलोमिटर दूरीमा रहेको सो उद्योगबाट प्रदेश नम्बर एकमै अत्याधुनिक मेसिनद्वारा प्रशोधन गरिएको पानी उत्पादन हुने गरेको दाबी छ । दमक १ का भविन्द्र भण्डारीले कम्तिमा ११ करोडको लागतमा इष्ट्रन फुड एण्ड बेभरेज कम्पनी दर्ता गरेर ‘बेला’ नामक पिउने पानी बजारमा ल्याएका छन् । उनले यसअघि कपी उध्योग संञ्चालन गर्दे थिए ।

कम्पनीले उत्पादन गरेको पानी यतिबेला झापाकै बजारमा खपत हुने गरेको सञ्चालक भण्डारीलले बताए । उनले भने, ‘हाम्रो उध्योगको उत्पादन क्षमता दैनिक तीन हजार कार्टन हो । तर, विद्युत् लगायतका कारणले आधामात्र उत्पादन हुने गरेको छ ।’ पर्याप्त उर्जा हुने हो भने दैनिक तीन हजार कार्टन अर्थात ३६ हजार बोटल पानी उत्पादन हुने गरेको छ । एउटा कार्टनमा १२ वटा बोटल हुन्छ । गाउँमा अत्याधुनिक प्रकृतिको पानी उद्योग सञ्चालनमा आएपछि स्थानीय ४० युवाले गाउँमै रोजगार पाएका छन् ।

प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गरेपछि पहिलोपटक प्रदेश नम्बर १ मा जर्मन टेक्नोलोजीको उद्योग सञ्चालनमा आएको हो । जार र बोतलमा सिल प्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को (क) बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको थियो ।

निर्देशिका जारी भएपछि नै उद्योगका सञ्चालक भण्डारीले उद्योग दर्ता लगायतका प्रक्रिया सुरु गरेका हुन । खाद्य ऐन तथा नियमावलीको कार्यान्वयन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पिउने पानीसँग सम्बन्धित निर्देशिका नै जारी गरेको छ ।

विभागबाट अनुमति लिएर उद्योगले प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोटल सफा गर्ने कक्ष, पुनः प्रयोग गर्ने बोटलहरूको भण्डारणको लागि पर्याप्त स्थानसहित उद्योग पूर्वाधारयुक्त रहेको उद्योगका जिएम ठाकुर दत्त जोशीले बताए । उनले भने, ‘कपिपय उद्योगले एउटा कोठामा मात्र पनि पानी उद्योग सञ्चालन गरिरहेका छन् । तर, इष्ट्रन फुड एण्ड बेभरेजले १५ कठ्ठा जग्गामा निर्माण भएको उद्योगबाट पानी उत्पादन गरिरहेको छ ।

पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने पोसाक, उद्योगबाट आउने फोहोर पानी व्यवस्थापनमा उद्योगले ध्यान दिएको सञ्चालक भण्डारीले बताए । ‘हामी सरकारको नियम, कानुन र तोकेको मापदण्ड पूरा गरेर मात्र उत्पादन भएका पानी लिएर बजारमा गएका हौँ । उनले भने, ‘बजारको माग देख्दा उत्पादन क्षमता बढाउन आवश्यक देखियो ।’

उद्योग आफैँले पानी बजारमा लगेर बिक्री नगर्ने उनले बताए । ‘सकेसम्म बेरोजगार समस्या समाधान होस् भनेर हरेक बजारमा एक एक वटा डिलर स्थापना गर्दे त्यसैको माध्यमबाट पानी बजारमा पुर्याउने लक्ष्य रहेको रहको छ’, उनले भने ।

उद्योगसँग आफ्नै पानीको परीक्षण गर्ने ल्याव छ । सञ्चालक भण्डारीका अनुसार प्रत्येक बोटलको पानीको परीक्षण हुने गरेको छ । उद्योगले जति पनि बस्तु उत्पादन गर्छ हाईजेनीक सिस्टमबाट उत्पादन गर्ने गरेको छ । उद्योगले बोटल, बिर्कोे, लेवल आफैँ उत्पादन गर्छ । सञ्चालकले भने, ‘जमिनमुनिको पानी बोटलमा पुगेर प्याकेजिङ्ग हुँदा दुईपटक मात्र कामदारका हातले बोटल छुनु पर्ने हुन्छ । लेवल लगाउने र बिर्कोको शिल लगाउने बहेक सबै काम मेसिनले गर्दा पानी शुद्धतामा शङ्गै गर्नु पर्देन ।’

असल उत्पादन अभ्यास (जीएमपी)लाई आधार मानेर सरकारले ल्याएको निर्देशिका अनुसार उद्योगले तोकिएको मापदण्ड अनुसारको पूर्वाधार, सरसफाइ, स्वच्छता, गुणस्तर, अभिलेखीकरण आदिमा ध्यान दिएर भौतिक तथा जैविक गुणसहितको पानीमात्र उत्पादन गर्ने उद्योगले जनाएको छ ।

सरकारले उद्योगलाई पूरा गर्न दिएको मापदण्डमा पानीको प्रत्येक ब्याचको पीटीडीएस, कडापन, फ्री क्लोरिन, आइरन, एमोनिया तथा कोलिफर्म जस्ता आधारभूत प्यारामिटर कम्तिमा टेक्टकिट माध्यमबाट विश्लेषण गरी प्रत्येक महिना अभिलेख अद्यावधिक गर्न दिएअनुसार गरको उद्योगले दाबी गरेको छ ।