इलाम । इलामको रोङ गाउँपालिकामा रहेको धार्मिक एवम् पर्यटकीय स्थल पाथीभरा मन्दिर आसपासका व्यापारीहरुको सस्था पाथीभरा व्यापारी समूहको साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट संस्थाको हितका लागि उनीहरुले मासिक ३ सय रुपैयाँ शुल्क तोकेका छन् ।

पाथीभरा मन्दिर परिसरमा सम्पन्न साधारणसभाले दुई लाख ९५ हजार चार सय २३ रुपैयाँको आयव्यय विवरण पारित गर्नुका साथै चालू बर्षको कार्यक्रम पारित गरेको छ । संस्थाका अध्यक्ष राम खवासको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पाथीभरा क्षेत्र बिकास समितिका सदस्य गोमा भुजेल, बिना भुजेल, डम्बरकुमारी भुजेल व्यापारी समूहका उपाध्यक्ष दिनेश निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले गाउँपालिका तथा वडाका प्रतिनिधिहरुलाई निमन्त्रणा गर्दा पनि उपस्थिति नभएको भन्दै चिन्ता प्रकट गरेका थिए ।

साधारण सभाले प्रत्येक ब्यापारीबाट मासिक रु। दुई सय लेबी उठाउँदै आएकोमा अब तीन सय रुपैयाँ उठाउने, उपहारजन्य सामग्री उत्पादन र बिक्रीमा जोड दिने, पसल अगाडि डष्टविन राख्ने तथा फूलबारी बनाउने जस्ता महत्वपूर्ण निर्णय पनि गरेको छ । पाथीभरा मन्दिर अगाडिको खुल्ला स्थानमा सामान्य टहरामा दिनभरी पसल राख्ने र बेलुका पसलका सामग्रीहरु डोकोमा उठाएर नजिकैको पाथीभरा धर्मसालामा राख्ने गरेको अध्यक्ष राम खवासले बताए ।

यसरी सामान ओसार–पसार गर्दा टुट्ने–फुट्ने तथा घषर्णको कारण गुणस्तर ह«ास हुने गरेकोले कम दाममा बिक्री गर्नुपर्ने र उपभोक्ताले पनि गुणस्तरीय सामान उपभोग गर्न नपाउने उपाध्यक्ष दिनेश निरौला बताउँछन् ।

गाउँपालिकाले पाथीभरा क्षेत्रलाई व्यवस्थित गर्न सुरक्षित रुपमा टहरा बनाइदिनुपर्ने व्यापारीहरुले माग राखेका छन् । यसअघि कोषाध्यक्ष शुष्मा राईले आर्थिक प्रतिवेदन, सचिव मिलन भुजेलले भावी कार्यक्रम, उपाध्यक्ष दिनेश निरौलाले एजेण्डा प्रस्तुतीकरण र अध्यक्ष राम खवासले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । पाथीभरा मन्दिर क्षेत्र आसपासमा ४९ वटा पसल रहेका छन् । पाथीभरा व्यापारी समूहमा सबै पसल आबद्ध भएका छन् ।

व्यापारी समूह सामाजिक क्षेत्रमा पनि सक्रिय भएको साधारण सभामा जानकारी दिइयो । बिभिन्न क्षेत्रमा लागेका सामाजिक पुराणमा निमन्त्रणा आएमा आर्थिक सहयोग गर्ने, मरिमराउ जस्ता दुःखद् घटना भएमा समवेदनापत्रसहित सहानुभूति प्रकट गर्ने जस्ता काममा पनि सहभागी हुने गरेको सचिव मिलन भुजेलले बताए । सामुहिक रुपमा देशका बिभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेर अनुभव आदान-प्रदान समेत गरी सिकेका कुरा व्यवहारमा उतार्ने गरेको सचिव भुजेलले बताए ।

यसैबीच रोङ गाउँपालिका आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष मातृका बरालले पाथीभरा क्षेत्रका व्यापारीहरु दर्ता प्रक्रियामा आउनुपर्ने बताए । वडाध्यक्ष बरालले राज्यको नजरमा व्यापारी भएर देखापर्नको लागि कही न कही दर्ता भएर जानुपर्ने हुन्छ ।

पाथीभरा क्षेत्रमा रहेका सबै पसलहरु वडा कार्यालय मार्फत दर्ता भएर गएमा गाउँपालिकाले कार्यक्रम लागू गर्न सजिले हुने उनको भनाइ छ । गाउँपालिकाले पाथीभरा क्षेत्र बिकास कोषको स्वीकृत गुरुयोजना अनुसार बिकास निर्माणको काम अगाडि बढाउने पनि वडाध्यक्ष बरालले बताए । गाउँपालिकाले यस बर्ष पाथीभरा गुरुयोजना कार्यान्वयनको लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।