इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले गत आर्थिक बर्षमा १० प्रतिशतभन्दा बढी प्रगति गरेको छ । केन्द्रले आर्थिक बर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा समग्र क्षेत्रमा प्रगति गरेको हो । नेपाल विद्युत प्राधिकरणको ३४औ बार्षिक उत्सव समारोहमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यालय प्रमुख रविनबाबु घिमिरेले विद्युत खपत, घाटा परिपूर्ति लगायतका विषयमा केन्द्रले लक्ष्यभन्दा बढी प्रगति गरेको बताए ।

अघिल्लो आर्थिक वर्षमा जिल्लामा १ करोड ७६ लाख युनिट विद्युत विक्री भएकोमा गत आर्थिक बर्षमा १ करोड ९३ लाख युनिट विद्युत विक्री भएको हो । कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्दै घिमिरेले इलामबाट पाँचथर वितरण केन्द्र टुक्रिंदा ३ हजार ४ सय ७४ ग्राहकहरु घटे पनि नेपाल विद्युत प्राधिकरण व्यवस्थापन समुहले दिएको लक्ष्यभन्दा इलाम वितरण केन्द्रले प्रगति बढी हासिल गरेको बताए ।

उनले जिल्लामा १८.२३ प्रतिशत वितरण घाटा रहेकोमा केन्द्रिय व्यवस्थापनबाट १६.११ प्रतिशतमा झार्न लक्ष्य दिएको थियो । तर, इलाम केन्द्रले घाटा परिपुर्ति दर १३.६२ प्रतिशतमा ल्याएको जानकारी दिए । इलाम वितरण केन्द्रको सफलतामा सबै तह र तप्काका कर्मचारी र प्राविधिकहरुको महत्वपुर्ण सहयोग मिलेको भन्दै धन्यवाद ज्ञापन गरे ।

उत्कृष्ट कर्मचारी सम्मानित
वार्षिक उत्सवमा केन्द्रले ५ जना स्थायी र ५ जना ज्यालादारी कर्मचारीलाई कदरपत्रसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ज्यालादारी तर्फ दानाबारी फ्युज सेवाका जगतबहादुर राई, नेपालटार फ्युज सेवाका पुर्णप्रसाद कोइराला, चापगैरी फ्युज सेवाका तुलाराम विश्वकर्मा तथा फिक्कल प्रशाखाका एकराज राई र बिशाल योगी रहेका छन् ।

त्यसैगरी स्थायी कर्मचारीतर्फ सहायक लेखापाल डिल्लीराम दहाल, हेल्पर नगेन्द्रकुमार श्रेष्ठ, इलेक्ट्रिसियन युगेन योञ्जन, फोरमेन गणेशबहादुर विश्वकर्मा र मिटर रिडिङ सुपरभाइजर बसन्त खतिवडा रहेका छन् ।

सम्मानित सबैलाई कार्यालय प्रमुख घिमिरेले कदरपत्र प्रदान गरे । त्यसैगरी फिक्कल वितरण केन्द्रका पुर्व प्रमुख होमबहादुर कटुबाललाई प्रशाखामा सुशासन कायम गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

विविध खेलकुद कार्यक्रम सम्पन्न
वार्षिक उत्सवकै अवसरमा केन्द्रका कर्मचारीहरुबीच विविध खेलकुद कार्यक्रमहरु समेत संचालन गरिएको थियो । क्यामरामबोर्ड पुरुष डबल तर्फ मणीकुमार थापा र रन्जित आचार्यको जोडी प्रथम भएको छ । निशान राई र विशाल योगी दोश्रो तथा कमलमणी दहाल र पुर्ण कोइरालाको जोडी तेश्रो भयो ।

क्यारामबोर्ड महिलातर्फ अस्मिता राई प्रथम, देउमाया अधिकारी दोश्रो र विना तामाङ तेश्रो भइन् । टेबलटेनिस तर्फ उपेन्द्र पासवान प्रथम, जितेन्द्र चौधरी दोश्रो र श्रीनारायण चौधरी तेश्रो भए ।

टेबल टेनिस महिला सिंगलमा विना तामाङ प्रथम, अस्मिता राई दोश्रो र रञ्जु पौडेल तेश्रो भइन् । खुल्ला दौडमा रमेशकुमार बानिया प्रथम, मुक्तिनाथ घिमिरे दोश्रो र पुण्यराज गौतम तेश्रो भए ।

त्यसैगरी हाजिरी जवाफ तर्फ प्रशासन समुह बिजयी भएको छ । लेखा समुह दोश्रो र प्राविधिक समुह तेश्रो भएको छ । म्युजिकल चेयर महिला तर्फ अनिता भट्टराई प्रथम, अस्मिता राई दोश्रो र रञ्जु पौडेल तेश्रो भइन् । म्युजिकल चेयर पुरुष तर्फ मेगबहादु राई प्रथम, उपेन्द्रकुमार पासवान दोश्रो र रन्जित आचार्य तेश्रो भए । चम्चा दौडमा राजकुमार अधिकारी प्रथम, रमेशकुमार बानिया दोश्रो र मणीकुमार थापा तेश्रो भए ।

साथी चिन्ने प्रतियोगितामा पुरुष तर्फ भिम कुवँर र महिला तर्फ विना तामाङ बिजयी बनिन् । सम्पुर्ण बिजयीहरुलाई केन्द्र प्रमुख रविनबाबु घिमिरेले शिल्ड र प्रमाणपत्र प्रदान गरे । बार्षिक उत्सव आयोजक समितीका संयोजक रविन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्र प्रमुख रविनबाबु घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल विद्युत प्राधिरकरण कर्मचारी संघका अध्यक्ष सन्तोषकुमार आचार्य, नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष कमलमणी दाहाल, फिक्कल प्रशाखाका शंकरसिंह कोइरी, ज्यालादारी कर्मचारी डिल्लीराम खतिवडा र सम्मानित होमबहादुर कटुबालले मन्तव्य राखेका थिए ।