तेह्रथुम । लालीगुराँस नगरपालिका ४ फुलेकका ४८ वर्षीय देवेन्द्र पौडेलले छुर्पी बिक्रीबाट वार्षिक ५० लाख आम्दानी गरिरहेका छन् । १४ वर्ष वैदेशिक रोजगारीमा बिताएर गाउँ फर्किएका पौडेलले २ वर्षअघि व्यावसायिक छुर्पी उद्योग सञ्चालनमा ल्याएका हुन् । इलामको नाम्सालिङमा गएर पौडेलले दुई वर्षसम्म दूधबाट बन्ने परिकार बनाउन सिकेर आएपछि आफैं व्यवसाय सुरु गरेका हुन् ।

गाउँले साथीहरूसँग मिलेर ‘नमुना छुर्पी उद्योग’ सञ्चालन गरेको पौडेलले बताए । १६ वर्षसम्म गाईभैंसी पालनको अनुभव बटुलेका पौडेलले आफ्नो उद्योगमा दूधका अन्य परिकार समेत बनाइरहेका छन् । पौडेलले ५० हजार रुपैयाँ लगानी गरेर दूधबाट क्रिम छुट्याउने हाते मेसिन खरिद गरेका छन् । गाउँका किसानले उत्पादन गरेको दूध बिक्री नभएपछि गाउँलेको समेत दूध खरिद गरेर छुर्पी उद्योग सञ्चालन गरेको पौडेलले बताए ।

आफन्त र गाउँकै साहुमहाजनसँग ५ लाख रुपैयाँ ऋण खोजेर उद्योग सुरु गरेका पौडेललको उद्योगमा अहिले १० लाख लगानी पुगेको छ । मासिक ७ क्विन्टलसम्म छुर्पी उत्पादन गरिरहेको उनले बताए । पौडेलले उद्योगमा ३ जनालाई रोजगारी दिएका छन् । ४५ हजार रुपैयाँ त कामदारले मात्र लगिरहेका छन् । पौडेलको उद्योगमा गाउँका ६५ घरधूरीका किसानको दैनिक ८ सय लिटर दूध खपत हुने गरेको छ ।

उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैंसीको ४५ रुपैयाँमा खरिद गरिरहेको फुलेकका दूध उत्पादक किसान पुखमान पौडेलले बताए । पौडेलले दैनिक ५० लिटर दूध उद्योगलाई बिक्री गर्दै आएका छन् । गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको किसानको भनाइ छ ।

दुग्धजन्य परिकार बनाउन घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले सोही ठाउँमा १५ दिने तालिम समेत सञ्चालन गरेर युवा किसानहरूलाई सहयोग गरिदिएको छ । पछिल्लो समय छुर्पीको माग थप बढेको उनले बताए ।

उत्पादित छुर्पीलाई बजारको कुनै समस्या छैन । यहाँ उत्पादन भएको छुर्पी इलाम, भारत, कोरिया, अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी खरिदका लागि व्यापारीहरू उद्योगसम्मै आउने गरेका छन् । उद्योगमा मासिक २ लाख रुपैयाँभन्दा बढीको घ्यूमात्र उत्पादन भइरहेको छ । दुग्धजन्य परिकार बनाउन घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले सोही ठाउँमा १५ दिने तालिम समेत सञ्चालन गरेर युवा किसानहरूलाई सहयोग गरिदिएको छ । पछिल्लो समय छुर्पीको माग थप बढेको उनले बताए ।

छुर्पी बिक्रीबाट आएको पैसाले १० जनाको परिवारको शिक्षा दीक्षा पालन पोषण गेर बचत समेत गरिरहेको उद्योगी पौडेलले बताए । उद्योगको विस्तारका लागि थप एक रोपनी जमिनमा भौतिक पूर्वाधार निर्माण गर्ने काम पनि पौडेलले गरिरहेका छन् ।