झापा। नेपालको होचो गाउँपालिका कचनकबलको केन्द्र बनियानी बजार शहरको रुपमा बिकास हुँदै गएको छ । नेपालको सुदूर पूर्वदक्षिणमा रहेको कचनकबल गाउँपालिका साविकका केचना, बनियानी, पथरिया, घेराबारी, पाठामारी र बालुबाडी गाबिस समायोजन गाउँपालिका बनेको हो ।

बनियानीबाट झापाको सदरमुकाम भद्रपुर १५ किमी र भारतीय सीमा नाका केचना पुग्न ७ किमी दूरी छ । दक्षिण र पूर्वमा भारतीय सीमा पर्दछ । गाउँपालिकाको केन्द्र बनेपछि बनियानी बजारको बिस्तार झन तिब्र गतिमा हुन थालेको छ । वडा नम्बर ६ मा रहेको बनियानी बजार ग्रामीण शहरमा रुपान्तर हुँदै गएको छ ।

मेची राजमार्गमा जोडिएको बनियानी बजारबाट बिर्तामोड, भद्रपुर आउजाउ गर्न सहज भएको छ । आसपासको ग्रामिण क्षेत्रबाट बनियानी बजारमा बर्सेनि घर बनाउनेको संख्या बढ्दै गएको छ ।

बनियानी बजारले शहरीकरणसँगै मुख्य सडक आसपासका जग्गाको मूल्य वृद्धि भएको छ । मुख्य सडकका जग्गा प्रतिधूर ५ देखि ६ लाखसम्म पर्ने गर्दछ । गाउँपालिका केन्द्र र मेची सडक निर्माणले बनियानी बजारको मूल्य वृद्धि भएको हो ।

गरिमा बिकास, एनआईसी एशिया, एक्सल लगायतका बैंकका शाखा संचालनमा छन् । एक नाडेप, नागबेली, जीवन बिकास, साना किसान, फरवार्ड लगायतका दश वटाभन्दा बढी लघु बित्त संस्थाका शाखा कार्यालय छन् ।

सहारा, एनएमसी, कर्णाली, सिम्रिक, प्रथम बहुउद्देश्यीय जस्ता ठूला सहकारीका पनि शाखा कार्यालय खुलेका छन् । एक दर्जनभन्दा बढी स्थानीय सहकारी संस्था संचालनमा छन् ।

लत्ता कपडा, हार्डवेयर, खाद्यान्न जस्ता दर्जनौँ पसल संचालनमा छन् । पाठमारी, केचना, बालुवाडी, घेराबारी, पथरिया र पृथ्वीनगरको दक्षिणी क्षेत्रको मुख्य बजार बनियानी हो ।

एक सामुदायिक क्याम्पस, तीन वटा सामुदायिक र तीन वटा निजी उच्च माबि तहको पठनपाठन हुने विद्यालय छन् । धान सूपर जोनको कार्यालय पनि यहि बनियानी बजारमा छ । प्राथमिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, हुलाक कार्यालय, लक्ष्मी क्याम्पस गाउँपालिकाका मुख्य कार्यालय यहि बनियानीमा रहेका छन् ।

बनियानी बजारले ग्रामिण शहरको आकार ग्रहण गरेको छ । खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, मोटरसाइकल, ट्याक्टर स्वरुम लगायतका व्यावसयिक थोक बिक्री केन्द्र खुलेका छन् । यहाँ हरेक शुक्रवार र सोमबार बजार लाग्ने गर्दछ ।

बजारको दिन भद्रपुर, बिर्तामोड लगायतका स्थानबाट व्यापारी आउने गर्दछन् । कचनकबलको मुख्य उत्पादन धान, गहुँ र मकै हो । धान उत्पादनको समयमा धान ठूलै कारोबार हुने गर्दछ । सजिलो खबरबाट