बिर्तामोड । चार जना युवा व्यवसायीको संयुक्त लगानीमा चितवनमा स्थापित विराज पेन्ट्सले आफ्नो उत्पादन प्रयोग गर्ने पेन्टरको दुर्घटना विमा गरिदिने भएको छ । आफ्नो उत्पादनको प्रवद्र्धन तथा प्रचारका लागि झापा आएको सञ्चालक टिमले सोमबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उक्त घोषणा गरेको हो ।

बिर्तामोडस्थित रोयल पार्टी प्यालेसमा सो पेन्ट्सका डिलर, बिक्रेता र पेन्टरहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्चालक राजु ढुंगानाले विराज पेन्टस्का उत्पादन प्रयोग गरी लक्ष्य पूरा गर्ने पेन्टरका लागि एक लाख रुपैयाँबराबरको दुर्घटना विमा गरिदिने घोषणा गरे ।
उनले पेन्टरले प्रयोग गर्ने पेन्ट्सको परिमाणको आधारमा १० हजार अंक नघाउने पेन्टरको विमा गरिदिने स्पष्ट पारे । पेन्टरको कामको जोखिमलाई मध्यनजर गर्दै उद्योगले निःशुल्क विमा योजना ल्याएको ढुंगानाले बताए ।

एक दशकदेखि आफ्नै देशको श्रम र सीप उपयोग गरी पूर्णरुपमा नेपालमै उत्पादन हुँदै आएको विराज पेन्ट्सले मेची अञ्चलमा आफ्नो उत्पादन बिक्री–वितरण गरेको तीन वर्ष पूरा भएको र यस अवधिमा सन्तोषजनक व्यापार गरेको सञ्चालक ढुंगानाको भनाइ छ । उनले विमाको घोषणा गरिरहँदा उपस्थित झण्डै २५० जना पेन्टरले ताली बजाएर स्वागत गरेका थिए ।

कार्यक्रममा विराज पेन्ट्सको सवल र कमजोर पक्षका बारेमा अन्तरक्रिया भएको थियो । सहभागी बिक्रेता तथा पेन्टरहरुले अन्य नाम चलेका विदेशी पेन्टस्हरुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले गुणस्तरीय उत्पादन र सहज उपलब्धतामा थप ध्यान पुर्याउनुपर्ने सुझाव दिएका थिए ।

मेची अञ्चलका लागि आधिकारिक विक्रेताको रुपमा बिर्तामोडस्थित नेरोल्याक ट्रेडर्स रहेको छ भने ३५ वटा जति बिक्रेता रहेका छन् । सो उद्योगले आउँदै गरेका दसैं, तिहारजस्ता महत्वपूर्ण पर्वहरुलाई मध्यनजर गर्दै उपभोक्तासमेतका लागि नयाँ स्किमहरु ल्याएको कार्यक्रममा बताइयो । कार्यक्रममा सञ्चालकहरु जयाम ढुंगाना, दिपक ढुंगाना, जगन्नाथ भट्टलगायतको उपस्थिति थियो ।

गायक तथा कार्यक्रम प्रस्तोता जीबी सुनारले सञ्चालन गरेको कार्यक्रममा मेची अञ्चलको आधिकारिक बिक्रेता नेरोल्याक ट्रेडर्सका सञ्चालक मिलन शिवाकोटीले स्वागत गरेका थिए भने गायिक सञ्जिता पुन र गायक सुनारले सुमधुर गीतहरु प्रस्तुत गरेका थिए ।