इलाम । सन्दकपुर गाउँपालिका-५ जमुना निगुरेका गोपाल राईको ४० रोपनी जमिनमा चिराइतो खेती गरेका छन् । राईले बार्षिक १० देखि १५ मन चिराइतो उत्पादन गर्छन । केही वर्षअघिसम्म चिराइतोको आम्दानीले घर खर्च धान्थ्यो । कुनै बेला मनग्गे आम्दानी दिने चिराइतोले उनलाई अहिले ‘निल्नु न ओकल्नु’ बनाएको छ ।

कुनै बेला छ सय रुपैयाँ किलोका दरले विक्ने चिराइतो अहिले सय रुपैयाँ किलोमा पनि बेच्न मुस्किल छ । ‘गए सालदेखि चिराइतो विकेको छैन’, उनले भने, ‘चिराइतो नविक्दा किसानको आम्दानी मासियो ।’ लेकालि क्षेत्रका किसानको लागि चिराइतो नगद आम्दानी हुने राम्रो बाली बनेको थियो । तर, उत्पादन विक्न छाडेपछि किसान चिराइतो मासेर परम्परागत खेतीतर्फ फर्किन थालेका छन् ।

‘फाइदा नै हुँदैन भने खेती गरेर साध्ये भएन नि’, उनले थपे, ‘अब पहिलेकै जस्तो गाइबस्तुको घाँसपात लगाउँने हो, पैसा आउने अरु बाली यहाँ हुँदैन ।’ लेकाली क्षेत्रको पाखा भित्तामा चिराइतो खेती फष्टाएको थियो । अरु खेती नहुने ठाउँमा चिराइतो लगाएर किसानले आम्दानी लिदै थिए । चिराइतो बजार अनिश्चित भएपछि किसानको आम्दानी गुमेको छ । चिराइतो विक्री हुने टुङ्गो नभएपछि किसान चिराइ मास्नतिर लागेका छन् ।

नेपालमा उत्पादन हुने चिराइतोको मुख्य बजार भारत थियो । तर, भारतले नेपालबाट निर्यात हुने जडिबुटीको सूचिबाट चिराइतो हटाएपछि चिराइताको निकासी ठप्प भएको हो । भारतले प्लान्ट क्वारेन्टाइन सूचिबाट चिराइतो हटाएपनि निकासीमा ठप्प छ । भारतले नेपालबाट निर्यात हुने १७ प्रजातिका जडिबुटीको सूचि बनाएको छ । त्यसमा चिराइतो उल्लेख नभएको वैदेशीक ब्यपार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक शुएस खनालले जानकारी दिए ।

नेपालबाट भारत निकासी हुने गरेको चिराइतो, टिम्मुर, रिट्ठा, पदमला, अमला पाखनवेद कुट्की लगायतका जडिबुटीको निकासी समेत रोकिएको छ । नेपालमा उत्पादन भएको जडिबुटी चीन समेत निकासी हुन्थ्यो । चीन तर्फ हुने निकसी पनि खस्किएको छ । चिराइतोमा मिसावट भएपछि चीनतर्फको बजार खस्किएको निकासी प्रवद्र्धन केन्द्रका निर्देशक खनाल बताउँछन् । ‘ब्यवसायीको बेइमानीको कारण चीनतर्फको निर्यात खस्कीएको हो’, खनालले भने, ‘ब्यपार लामो समयलाई सोचेर गर्नुपर्छ ।’

सरकारले नेपालमा उत्पादन हुने जडिबुटीको एक तह प्रशोधन गरेर मात्रै निर्यात गर्ने नीति लिएको छ । तर, नेपालमा चिराइतो प्रशोधन गर्ने उद्योग नै छैन । उद्योग नहुँदा नेपालमा चिराइतोको प्रशोध हुँदैन भने विदेश निकासी पनि ठप्प हुँदा किसानको उत्पादन खेर जाने अवस्थामा पुुगेको छ । दुई वर्षदेखि चिराइताको सहज निकासी नभएकाले भाउ घटेको ब्यवसायी बताउँछन् । उनीहरुले चियाइतो निर्यातको वातावरण बनाइदिन सरकारसंग पटक पटक आग्रह गरेपनि पहल नभएको बताएका छन् ।

‘भारतले आयात गर्ने जडिबुटीको सूचिमा चिराइतो नहुँदा चिराइताको निकासी रोकिएको छ, हामीले लिखित मौखिक रुपमा पनि निकासी सहज बनाउन सरकारलाई आग्रह गर्यो, अहिलेसम्म कुनै पहल भएको छैन’, इलाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा चिराइतो ब्यसायी कृष्ण पौडेलले भने, ‘यसपालि चिराइतो निकाल्ने सिजन शुरु हुन लाग्यो, पोहोर परारकै चिराइतो बेच्न बाँकी छ ।’

इलाम सहित पाँचथर, ताप्लेजुुङ्ग, भोजपुर संखुवासभा लगायतका जिल्लामा ब्यवसायीक चिराइतो खेती हुने गरेको छ । बाग्लङ्गु, प्युठान, म्याग्दी, पाल्पा, स्याङझा, कास्की लागतका जिल्लामा अहिले चिराइतो खेती विस्तार भइरहेको जडिबुटी प्राविधिक युवराज पिसीले जानकारी दिए ।

इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकामा चिराइताको ब्यवसायीक खेती हुने गरेको छ । इलामबाट वर्षेनी ५० हजार किलोभन्दा बढि चिराइतो निकासी हुन्थ्यो । अहिले १५ हजार किलो चिराइतो निकासी भएको जिल्ला वन कार्यालयमा तथ्याङ्क छ । इलामबाट निकासी भएको चिराइतो झापाको गोदाममा थन्किएको ब्यवसायी बताउँछन् ।

सरकारले विदेश निर्यात हुने वनस्पति र जडिबुटीको ‘पिष्ट लिष्ट’ तयार गर्नको लागि अध्ययन गर्ने भएको छ । वनस्पति र जडिबुटीमा हुने मित्रु र शत्रु जीवनहरुको अध्ययन गरेर ‘पिष्ट लिष्ट’ तयार गरिने वनस्पति विभागले जनाएको छ । विदेश निकासी हुने ४६ वटा जडिबुटी र वनस्पतिको अध्ययन गरिने वनस्पति विभागको जडिबुटी प्रवद्र्धन तथा विकास शाखाका वैज्ञानिक अधिकृत रघुराम पराजुलीले जानकारी दिए ।

‘यसको अध्ययन गर्न लामो सयम लाग्छ । यसमा वनस्पति विज्ञ, किरा, शुष्म जिवाणु विज्ञ, कृषि, रोग, माटो विज्ञहरुको आवश्यकता पर्छ’, वैज्ञानिक अधिकृत पराजुलीले भने, ‘अध्यनपछि त्यसको प्रमाणित प्लान्ट क्वारेन्टाइन कार्यालयले गर्ने हो ।’

नेपाल सरकारले ८३ वटा कृषि, वनस्पति र जडिबुटीजन्य बस्तुको पेष्ट लिष्ट भारत सरकारलाई पठाइसकेको छ । त्यसमध्ये ६ वटा मात्रै भारतले सूचिकृत गरेको छ । त्यसमा अलैची, तितेपाती, तेजपत्ता, कचुर, चुथ्रो लगायतका छन् । बाँकी ३१ वटा सूचिकरणको प्रक्रियामा रहेको वनस्पति विभागले जनाएको छ । चिराइतो पनि सूचिकरणका प्रक्रियामा रहेकाले निकासीमा समस्या भएको हुनसक्ने पराजुली बताउँछन् ।

खयर, विखुमा, पदमचाल, चिराइतो, लोठ सल्ला, जटामसी, कुड्की लगायतका ३१ जडिबुटी सूचीकरण हुँन बाँकी नै छ । अन्य ४६ वटा जडिबुटी तथा वनस्पतिहरुको अध्यन गर्ने सरकारले तयारी गर्दैछ । त्यसमा सरकारले ठिङ्ग्र सल्लो, गुच्छी च्याउ, पदमचाल, पाखनवेद कुरिलो लगायत ४६ वटा वनस्पति र जडिबुटीको अध्ययन गर्ने तयारी गरेको हो । पिष्ट लिष्ट नभएका कतिपय जडिबुटी तथा वनस्पतिको विदेश निर्यातमा समस्या छ ।