झापा । सरकारले सामुदायिक विद्यालयका लागि दिँदै आएको दिवा खाजा कार्यक्रम रोके पनि यहाँको एक विद्यालयले भने निरन्तरता पाएको छ । स्थानीय दाताहरुको सहयोगमा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को स्वरस्वती प्राथमिक विद्यालयले दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको हो ।

सरकारले गत आवमा कार्यक्रम रोकेको थियो । तर, सामुदायिक विद्यालयका विद्यार्थीको खाजा कार्यक्रम स्थानीय दाताको सहयोगमा विद्यालयले रोकेन । दाताले आफ्नो जन्मदिन, पितृहरुको सम्झना, विवाह उत्सव लगायतका अवसर पारेर विद्यालयमा अन्न दान गर्ने गरेका छन् । कतिपय दाताले नगद नै दिने इच्छा राख्नुहुन्छ तर, विद्यालय प्रशासनले भने जिन्सी सामग्री नै दिन दातालाई आग्रह गर्ने गरेको विद्यालयका प्रधानाध्यापक गणेश घिमिरेलले बताए ।

विद्यालयले सबै अध्ययनरत विद्यार्थीका लागि खाजाको जोहो गर्ने गरेको छ । कक्षा नर्सरीदेखि ५ सम्म अध्ययनरत २०३ जना छात्रछात्राले विद्यालयले व्यवस्था गरेको खाजा खाने गरेका छन् । खाजा पकाउन, ख्वाउन र भाँडावर्तन सफा गर्न विद्यालयका शिक्षकशिक्षिका आफैँ खटिन्छन् । विद्यालयका प्रधानाध्यापक गणेश घिमिरेले भने, ‘शिक्षकशिक्षिकाले विद्यालयमा विद्यार्थीका लागि पकाएको खाजा सबैलाई बाँडेर दिन पाउँदा मनै आनन्द हुने गरेको छ ।’

सरकारले दिवा खाजा कार्यक्रम कटौती गरे पनि विद्यालय प्रशासनले यसलाई निरन्तरता दिएकैले विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थीको संख्या थपिएको छ । स्थानीय भन्छन, ‘विद्यालय खाली हुने अवस्था थियो, खाजाले लोभ्याएर कक्षा कोठामा टनाटन विद्यार्थी बनायो ।’

सो विद्यालयलाई संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सांसद झलकबहादुर दर्लामी मगर र शिवताक्षी नगरपालिकाले पनि पूर्वाधार र गुणस्तर सुधारमा आर्थिक सहयोग गरिरहको छ । यसबाहेक अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि सहयोग गरिरहेको विद्यालयका प्रधानाध्यापक घिमिरेलले जानकारी दिए ।

यसैबीच, बुुधबार राष्ट्रिय बाणीज्य बैंक शिवगञ्ज शाखाले विद्यार्थीका लागि करिब १ महिनाका लागि दिवा खाजा उपलव्ध गराएको छ । बैंकका शाखा प्रबन्धक खगेन्द्र कन्दङ्गवाको कर्मचारी टोलीले दिवा खाजा उपलव्ध गराएको सो विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार १ सय केजी भुजा, ५० केजी मटर, २५ केजी चना, १ कार्टन विस्कुट, ३ लिटर तोरीको तेल, १ केजी जिरा मसला र आधा केजी बेसार प्राप्त भएको छ । विद्यालयका अनुसार दाताहरुको सहयोगले कक्षा कोठामा विद्यालय भरिभराउ छन् ।