बिर्तामोड । झापाको अग्रणी सहकारी संस्था विर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आ. व. ०७५/०७६ मा २ करोड १७ लाख ७२ हजार ८१८ रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ ।

शुक्रबार विर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कमलबहादुर वस्नेतले उक्त विवरण प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन अनुसार जिल्लाका १६ वटा स्थानमा सेवा केन्द्र सञ्चालन गरेर २० हजार ४२९ जना सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहेको सिम्रिक साकोसले २०७६ असार मसान्तमा ८४ करोड एक लाख ४४ हजार ४२४ रुपैयाँको वासलात बनाएको छ । अध्यक्ष बस्नेतले सहकारी एकीकरण गर्न राज्यले दिएको अवसरलाई आत्मसात गरी सिम्रिक साकोस र सनसाइन साकोस चन्द्रगढीबीच एकीकरण भई संयुक्त साधारणसभा भइरहेको जानकारी गराए ।

सनसाइनको वासलातलाई एकीकृत गर्दा समीक्षा वर्षमा ९० करोड १५ लाख १९ हजार ६१५ रुपैयाँको वासलात बनेकोमा चालू आर्थिक वर्षमा एक अर्ब २६ करोड २१ लाख २७ हजार ४६१ रुपैयाँ पुर्याउने लक्ष्य लिइएको अध्यक्ष बस्नेतले सगौरव घोषणा गरे ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष बस्नेतले समीक्षा वर्षमा सिम्रिक साकोसले आफ्ना सदस्यहरुलाई १० दशमलव ३९ प्रतिशत शेयर बोनस र ८ दशमलव ९७ प्रतिशत संरक्षित पूँजी फिर्ता कोषबाट लाभांश वितरण गर्ने उल्लेख गरे ।

शेयर सदस्यहरुले जीवनका अनेकन सुख एवम् दुःखका क्षणहरुमा सिम्रिकको न्यानो साथ पाएको अवगत गराउँदै अध्यक्ष बस्नेतले स्वास्थ्य उपचार, मृत्यु राहत, ऋणी सदस्यको मृत्युमा कर्जा मिनाहा आदिमा समीक्षा वर्षमा २४ लाख ७९ हजार ६४८ रुपैयाँ खर्च गरिएको जनाए ।

संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको साधारणसभामा प्रमुख अतिथि उप्रेतीले एक सहकारी एक सदस्यको अवधारणा विकास भइसकेकोले सिम्रिकका सदस्यले सिम्रकमै मात्र कारोबार गरेर संस्थालाई मजबुत बनाउनुपर्ने आग्रह गरे ।

साधारणसभाको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्रकुमार गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमली, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापा, पत्रकार एकराज गिरी तथा महिला चेम्बर बिर्तामोड नगर अध्यक्ष संगीता चिमरियाले शुभकामना मन्तव्य राखेका थिए ।