झापा । झापाका नदी किनारहरु आज बिहानैदेखि सिँगार्न थालिएको छ । तराइबासीको मुख्य चाड छठ पर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका भक्तजनले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् ।

विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, अन्धुवाखोलालगायतका दर्जनभन्दा बढी नदीका किनारमा पूजाको घाट तयार गरिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भव्यरूपमा छठ पर्व मनाइने भएको छ ।

भद्रपुरस्थित मेची नदीमा छठ पर्व भव्य र व्यवस्थित तरिकाले मनाउनका लागि समिति नै गठन गरिएको छ । भारतको पश्चिम बङ्गाल तथा बिहार गरी दुई राज्यसँग जोडिएको मेची नदीमा मनाइने छठले जिल्लाका अन्यत्रभन्दा भिन्नै रौनक दिने गरेको छ ।

भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा मैथिली समाज र युनिक समूहले मेची नदीमा पूजास्थल (घाट) देखि बिजुलीबत्ती जडान, स्वागत गेट, हेल्पडेस्क, अस्थायी बाँसे पुल निर्माण, सरसफाइ, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, सूर्य भगवान्को मुक्तिस्थल निर्माणलगायत काम गरिरहेका छन् । मेची नदीमा मात्र नेपाल र भारतका गरी ५० हजारभन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको मैथिली समाज समितिका अध्यक्ष रमेशचन्द्र झाले बताउनुभयो ।

बिर्तामोडको छठ पूजा विरीङमा
छठ समाज सेवा समिति विर्तामोडले आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व विरिङ खोलामा मनाउने तयारी गरेको छ । बिर्तामोडको अन्धुवा खोलामा हुदै आएको छठ पूजा बिगत छ बर्षदेखि विरिङ खोलामा गरिँदै आएको छठ समाज सेवा समिति विर्तामोडका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

विरिङ पुल उत्तर खोलाको पूर्वी तटमा हुने छठ पूजा व्यवस्थित र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको उनले बताए । छठ समाज सेवा समिति अन्तर्गत छठ पूजा सम्पन्न गर्नको लागि कार्यक्रम संयोजक सञ्जयकुमार शर्मालाई चयन गरिएको छ ।

त्यस्तै अर्थ व्यवस्थापन उपसमितिको संयोजकमा वरुण चौधरी, घाट व्यवस्थापन उपसमितिको संयोजकमा शंकर भगत, टेण्ट व्यवस्थापन उपसमितिको संयोजकमा रामेश्वर दिवेदी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा अशोक चौधरी, स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिको संयोजकमा उपेन्द्र प्रधान, विजुली बत्ती व्यवस्थापन उपसमितिको संयोजकमा दिलिप दास, कुपन व्यवस्थापन उपसमितिको संयोजकमा विक्की चौधरी, प्रसाद व्यवस्थापन उपसमितिको संयोजकमा देवेन्द्रकुमार सिंह, सामाजिक संघसंस्था समन्वय उपसमितिको संयोजकमा भगीरथ पोद्धार, यूवा स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा दिपक साह, प्रचारप्रसार उपसमितिको संयोजकमा दिपक साफी, भजन–कीर्तन व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण श्राफ रहेका छन् ।

छठ पूजाका लागि विरीङ नदी किनारमा चार सयभन्दा वढी घाट तयार गरिएको र झापाको बिर्तामोड, चारपाने, लक्ष्मीपूर, दुर्गापूरका पाँच सयभन्दा वढीले छठ पूजा गर्ने छठ समाज सेवा समिति विर्तामोडका अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए । विरीङ नदी किनारमा पूजास्थलदेखि बिजुलीबत्ती जडान, टेण्ट व्यवस्थापन स्वागत गेट, हेल्प डेस्क, सरसफाई, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, निर्माण गरिएको उनले बताए ।

विरीङ नदी किनारमा हुने छठ पूजाको उद्घाटन प्रदेश १ का आन्तरिक तथा कानून मन्त्री हिक्मत कार्कीले गर्ने छठ समाज सेवा समिति विर्तामोडका महासचिव मनोज रौनियारले जानकारी दिए । यस वर्ष कात्तिक १६ गते शनिबार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भव्यरूपमा छठ पर्व मनाइने भएको छ ।