इलाम । स्व. महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार नमिन ढकाललाई प्रदान गरिएको छ ।

पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै माइभ्याली फुटबल क्लबले नगद १५ हजारसहित सम्मान गरेको हो । ढकाललाई क्लबको चौँथो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरे । ढकाल थाहा खबर, स्थानीय सन्देश साप्ताहिक, लोकल सन्देश डटकम, सूर्योदय टेलिभिजनलगायतका विभिन्न सञ्चारमाध्यममा कार्यरत छन् ।

क्लबका सदस्य महेश कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्मृतिमा २०७३ सालबाट इलाम जिल्लामा रहेर खेलकुद पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको छ । माइभ्याली फुटबल क्लबले हरेक वर्ष आयोजना गर्ने माइभ्याली गोल्डकपको अवसरमा प्रदान गरिँदै आएको पुरस्कार पहिलो पटक अधिवेशनका क्रममा प्रदान गरिएको हो ।