झापा । भद्रपुर-८ स्थित पृथ्वी आधारभूत विद्यालयलाई अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीले अध्यापन–प्रोजेक्टर उपलब्ध गराएको छ ।

रोटरी क्लव अफ भद्रपुर र रोक्ट्रयाक्ट क्लव अफ भद्रपुरको संयोजनमा बुधबार विद्यालय परिसरमा आयोजित एक समारोहका बीच सो प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरिएको छ भने बुधबार नै प्रोजेक्टरको उद्घाटन गरिएको छ ।

रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा रोट्रयाक्ट क्लव अफ भद्रपुरका सचिव सुमित मण्डलले सञ्चालन गरेको कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले शैक्षिक प्रोजेक्टर र कक्षकोठाको उद्घाटन गरेका थिए ।

रोटरीले प्रोक्टरसँगै कक्षाकोठालाई पनि व्यवस्थित बनाइदिएको छ ।

सो विद्यालयलाई रोटरी क्लव अफ भद्रपुरले अभिभावकत्व प्रदान गर्दै वर्षेनि शैक्षिक सामग्री, विद्यार्थीलाई पोशाक, भौतिक संरचना निर्माणमा सहयोग पुर्याउँदै आएको छ ।

विद्यार्थीको सांगीतिक प्रस्तुतिसमेत रहेको कार्यक्रममा रोटरी क्लवका डिस्ट्रिक्ट गभर्नर कुमार गिरी, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरब सुब्बा, भद्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख उद्धव विष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला घिमिरे, प्रधानाध्यापक नवकुमार रायलगायतले सो विद्यालयको शैक्षिक उन्नयनमा भद्रपुर रोटरीले पुर्याएको सहयोगको प्रशंसा गरे ।
रोटरीका डिस्ट्रिक्ट गभर्नर गिरीले बालबालिकाको क्षेत्रमा अन्तर्राष्ट्रिय रोटरीले उल्लेखनीय सहयोग पुर्याउँदै आएको बताउँदै सहयोगको सदुपयोग गर्न विद्यालयलाई आग्रह गरे ।

यसपटक रोटरीले पृथ्वी आधारभूत विद्यालयलाईप्रोजेक्टर र कक्षाकोठा व्यवस्थापनमा एक लाख रुपैयाँभनदा बढीको सहयोग पुर्याएको अध्यक्ष ढकालले बताए ।