झापा । फागुनको पहिलो सातादेखि सुरु हुने तेस्रो ‘सताक्षी गोल्डकप २०७६’ को तयारी सुरु भएको छ । प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोर्टिङ्ग क्लबले आइतबार (आज) शिवसताक्षी नगरको झिलझिलेमा पत्रकार सम्मेलन गर्दे तयारीको बारेमा जानकारी दिएको हो ।

फाुगनु ३ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका १ सहित नेपालका ७ वटा टिम सहभागी हुनेछन् । स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता माई पश्चिम झापाको प्रतिष्ठित गोल्डकप हो । यो वर्ष झापामा मेचीनगर गोल्डकप, झापा गोल्डकप र सताक्षी गोल्डकपको समय तालिका अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको छ ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, रुपन्देही ११, मच्छिन्द्र फुटबल क्लब, च्यासल फुटबल क्लब, आयोजक झापा र भारतको दार्जीलिङ फुटबल क्लबले सहभागिता जनाउने मौखिक सहमति भएको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लबका उपाध्यक्ष फुर्वा तामाङ्गले बताए ।

सताक्षी गोल्डकपमा सहभागी जनाउन अन्य ए डिभिजनका टिम पनि उत्साहित भए पनि तेस्रो संस्करणमा ८ वटा टिमको मात्र प्रतिस्पर्धा हुने उनले बताए । थ्री स्टार र दार्जीलिङ फुटबल क्लबले सहमति दिएको छ भने अन्य टिमको लिखित प्रतिबद्धता आउने प्रक्रियामा रहेको उनले बताए ।

प्रतियोगिताको विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँको लागत इष्टिमेट भएको बताए । प्रतियोगिताका म्यान अफ दी टुर्नामेन्टको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तै उत्कृष्ट मिड फिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र बेष्ट कोचको पुरस्कार राशि जनही २० हजार र म्यान अफ दी म्याच बन्ने खेलाडीलाई १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

आयोजक क्लबले तेस्रो संस्करणको प्रतियोगितालाई उत्सवका रुपमा लिएको जनाएको छ । सरकारको कार्यक्रम सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाइरहँदा सताक्षी गोल्डकपमा पनि विदेशी पाहुना दर्शक भएर आउने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए ।

‘हामीले बनाएको बाँसको प्यारापिटमा दिनहूँ कम्तिमा १० विदेशी पाहुना दर्शक भएर प्रतियोगिता हेर्नु हुनेछ भने ६ हजार ५०० दर्शक झापा, मोरङ्ग, सुनसरी, इलाम, पाँचथर र सिमावर्ती भारतीय दर्शक हुनेछन्’, अध्यक्ष लावतीले भने ।