धुलाबारी । नयाँ विधि र प्रविधिको विकाससँगै शिक्षण सिकाइमा पनि आमूल परिवर्तन आएको छ । शिक्षण सिकाइमा तल्लो तहदेखि नै नयाँ शैली अपनाउन सुझाव दिइएको छ

यसैक्रममा पछिल्लो समयमा बालबालिकाको शिक्षामा मन्टेश्वरी विधिलाई प्रयोगमा ल्याइएको छ । साधारणतया ५ वर्षबाट बालबालिकालाई स्कुल भर्ना गर्ने गरेको पाइन्छ । तर, मन्टेश्वरी विधि आएसँगै १८ महिनादेखि नै बालबालिकालाई स्कुलमा भर्ना गरी मन्टेश्वरी विधिबाट पढाउन थालिएको छ ।

सभ्य समाजको परिकल्पना गर्ने हो भने बाल्यकालबाटै असल आचरण र बानी ब्यहोरा सिकाउनुपर्ने मेचीनगरको धुलाबारीमा आयोजित एक तालिमका सहभागीहरुले बताएका छन् । नानीहरुले बाल्यकालमा जस्तो शिक्षा दियो त्यस्तै सिक्छन् । उनीहरुको भविष्य उज्ज्वल बनाउन, असल व्यवहार र सीप मन्टेश्वरी विद्यालयबाटै सिक्ने सहभागीहरुको जोड छ ।

नेपाल मन्टेश्वरी एसोसियसन बिर्तामोड झापाको आयोजना तथा दिल्ली पब्लिकेशन स्कुल फूलबारी भारतको प्राविधिक सहयोगमा सञ्चालित एक दिने तालिममा मन्टेश्वरी विद्यालयमा १८ महिनादेखि ७ वर्षसम्मका नानीहरुले असल आचरण सिक्ने थलोको रुपमा परिचित गराए ।

बच्चाहरुलाई खेलाउँदै, हसाउँदै, रमाउँदै सिकाइने मन्टेश्वरी विद्यालय झापामा ६८ वटा छन् । नेपाल मन्टेश्वरी एसोसियसन झापाका संस्थापक अध्यक्ष भीमबहादुर श्रेष्ठले बच्चाको सिकाइ क्षमताअनुसार उनीहरुको बौद्धिक विकास गरिने मन्टेश्वरी भएको बताए । ५ वर्षभित्र बच्चाहरुले ९५ प्रतिशत बौद्धिक ज्ञान हासिल गरिसकेका हुन्छन् । बाँकी ५ प्रतिशत ज्ञान बढाउन उनीहरु जीवनभर संघर्ष गरिरहने श्रेष्ठको भनाइ छ ।

वालबालिकालाई होसियारीपूर्वक, खेलाउँदै, हसाउँदै, देखाउँदै पढाइने हुँदा उनीहरुलाई शिक्षण अप्ठ्यारो र गाह्रो विषय भएको सहभागीहरुको भनाइ छ । नानीहरुले चकचक गरे, रोए, पढ्न नमाने उनीहरुलाई नियन्त्रण गर्ने अभ्यास मन्टेश्वरी तालिम लिएकाले मात्र गर्न सक्छन् उनले भने ।

दिल्ली पब्लिकेशन स्कुलका निर्मली आचार्जीले नेपाल र भारतको विद्यालयको पढाइ एउटै किसिमको छ । तर, प्रक्रिया फरक छ । उनले भने, ‘नानीहरुलाई सिकाउने प्रक्रियाबारे तालिम दिएका छौँ । हामीले दिएको ज्ञानलाई आफ्नो स्कुलमा लागु गर्नुहोस्, सफल बन्नुहुन्छ ।’ आयोजक समितिका जिल्ला सदस्य मातृका ओडारीले नेपाल र भारतको सिकाइ प्रक्रिया आदान–प्रदानबाट सिकाइ उपलब्धिमुलक हुने बताए ।

मन्टेश्वरी सञ्चालकहरुले जिल्लामा करिब ७ हजार जनालाई रोजगार दिएका छन् । तर, राज्यले कक्षा स्तरोन्नतिमा स्वीकृत दिन कन्जुस्याइँ गरेकोप्रति उनीहरुको आपत्ति छ । मन्टेश्वरी विद्यालयमा तलबलगायतका बारेमा केही समस्या रहे पनि त्यसलाई मिलाएर लैजाने संस्थापक अध्यक्ष श्रेष्ठले जनाए ।

‘बच्चाहरुको हेरविचार तथा शिक्षणसम्बन्धी तालिम’मा जिल्लाका ४० जना मन्टेश्वरी सञ्चालक र शिक्षिकाहरुको सहभागिता रहेको तालिम संयोजक सुरेश भट्टराईले जानकारी दिए । तालिमको सहजीकरण दिल्ली पब्लिकेशन स्कुलका शिक्षिका सारिका सुब्बाले गरेकी थिइन् ।