बिर्तामोड । बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको दिव्यज्योति माध्यमिक विद्यालयले स्थापनाको २३औं वार्षिकोत्सवमा समाजका अग्रज शिक्षासेवीसहित शैक्षिक क्षेत्रमा अब्बल रहेका २२ जनालाई सम्मान गरेको छ । जसमा केही दातासमेत रहेका छन् ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बीच कृष्ण साह, चान महमद हुसेन, लक्ष्मीनारायण यादव, अर्जुन उप्रेती, समता दाहाल कार्की, भुपेन्द्र थापा, लोकनाथ ओली, नवीन रसाइली, ओम कार्की, कैलाश चौधरी, बोगादेवी कार्की, छत्रबहादुर राजवंशी, कविन्द्र राजवंशी, अमित खरेल, प्रविन राजवंशी, ममता चौधरी, श्याम श्रेष्ठ, होमनाथ भट्टराई, रामकुमार गौतम र जफर आलम ‘गुण्डी’लाई सम्मान गरिएको छ । सम्मानितमध्ये केहीले विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्न सहयोग पु¥याएको बताइन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोजकुमार खरेलले विद्यालयको शैक्षिक अवस्थाका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल, प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेती, सम्मानित व्यक्तित्व कविन्द्र राजवंशी, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओलीलगायतले बोलेका थिए ।

यसैबीच ओलीले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले दुई लाख रुपैयाँको अक्षयकोष निर्माणका लागि सहयोग प्रदान गरेका छन् । विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष निर्माण गर्दै हरेक वर्ष विद्यार्थीलाई अध्ययनका लागि सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक खरेलले बताए ।

२०५३ सालमा स्थापना भएको विद्यालय ग्रामीण क्षेत्रकै नमूना विद्यालयका रुपमा लिइन्छ । सो विद्यालयमा अहिले स्मार्ट प्रविधिबाट पठनपाठन हुने भएकाले विद्यार्थी संख्यासमेत अधिक रहेको बताइएको छ । अहिले सो विद्यालयमा ७८८ जना विद्यार्थी अध्ययनरत छन् ।