झापा । बिर्तामोडमा सञ्चालित क्षमता अभिबृद्धि र उद्घोषणसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

नगरपालिकाअन्तर्गत वडामा गठित टोल विकास संस्थाका प्रतिनिधिलाई प्रदान गरिएको तालिम समापनमा बोल्दै नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले नेतृत्व विकासका लागि आचरण सुधारमा जोड दिनुपर्ने धारणा राख्नु भयो ।

विकासका योजना तर्जुमाका लागि टोल विकास संस्थाको अहम भूमिका रहने बताउँदै उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभयो । सहभागी प्रशिक्षार्थीलाई उहाँले प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो ।

कादम्बिनी प्रोग्राम प्रोडक्सनको प्राविधिक सहयोग रहेको प्रशिक्षण समापन सत्रमा प्रशिक्षार्थीहरु टिका भट्टराई राय, ओमनाथ उप्रेती, वार्ड मेलमिलाप केन्द्रका संयोजक प्रेमकुमार खरेल, वार्ड सचिव टिका अधिकारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिममा वार्ड नम्बर १ का ३५ वटा टोल विकास संस्थाका प्रतिनिधिको सहभागिता रहेको बिर्तामोड नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । प्रवक्ता पाण्डेकै अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रमको सहजीकरण सञ्चारकर्मी केशव भट्टराईले गर्नुभएको थियो ।