झापा । कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि सरकारले जारी गरेको लकडाउनमा प्रेमिका भेट्न झापा आएका युवा प्रहरीको फन्दामा परेका छन् ।

सिरहाबाट मोटरसाइकलबाट झापाको अर्जुनधारा आएका एक प्रेमीसहित उनका साथी प्रहरीको फन्दामा परेका हुन् । अर्जुनधारा ८ को कुशल चौकस्थित एक घरमा उनीहरु शुक्रबार राति आएका थिए ।

छिमेकीले बाहिर जिल्लाबाट दुई युवा अर्जुनधारा आइ बास बसेको खबर प्रहरीलाई जानकारी गराएका थिए । सोही जानकारीका आधारमा प्रहरीले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको थियो ।

ती युवाहरुलाई शनिश्चरे प्रहरी चौकी, सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मीको टोलीले बास बसेको घरबाट उद्दार गरी क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार बास बस्न दिने घरका परिवारलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ । उनीहरुलाई घरबाहिर ननिस्कन र छरछिमेकमा आवतजावत नगर्न भनिएको शाखा प्रमुख बस्नेतले बताए ।

अर्जुनधारा नगरपालिकाले स्थापना गरेको ४ नम्बरस्थित क्वारेन्टाइनमा अहिले ७ जना व्यक्ति रहेका छन् भने नगरभित्र ३८ जना होम क्वारेन्टाइनमा रहेका छन् । (भिडियाे : कमल पाेख्रेल)