बिर्तामोड । कोरोना भाइरसको संक्रमण बढ्ने संकेत देखिएपछि झापाको विर्तामोडमा बढ्दै गएको भिड नियन्त्रण गर्नुपर्ने देखिएको छ ।

आवश्यक पूर्व सतर्कता अपनाउनुपर्ने भएपछि कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगर समिति बिर्तामोडले साँझ ५ बजेसम्म मात्रै बजार खोल्ने निर्णय गरेको छ ।

बिर्तामोड नगरपालिकाको निर्णयपछि बिर्तामोड उद्योग वाणिज्य संघले समेत ५ बजेपछि बजार नखोल्न निर्देशन दिएको छ । नगरको निर्णयअनुसार ५ बजेसम्म मात्रै बजार तथा पसल खोल्न वाणिज्य संघले बिर्तामोडका सबै उद्योगी व्यवसायीलाई निर्देशन दिएको हो ।

बिहीबार अपिल जारी गर्दै बिर्तामोड उद्योग बणिज्य संघले आवश्यक स्वास्थ्य सतर्कता अपनाएर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष कुमार भट्टराई र महासचिव भेषराज भण्डारीले अपिल जारी गर्दै अनिबार्य मास्क लगाउन र आफ्नो व्यवसायस्थल अगाडि साबुन पानी वा सेनिटाइजर राख्न अनुरोध गरेका छन् ।