काठमाडौँ । मनसुनी वायु सक्रिय भएसँगै शनिबार रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा वर्षा भइरहेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबै प्रदेशहरुका केही स्थानहरुमा रातिदेखि नै वर्षा भईरहेको छ।

सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भने भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचनाअनुसार कैलाली, कञ्चनपुर, बर्दिया, दार्चुला, बैतडी र डडेल्धुरा तथा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

कैलाली, कञ्चनपुर र बर्दियाका धेरैजसो स्थानमा रातिदेखि ‘अति भारी’ वर्षा भएपछि ती जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई राति २ बजे नै एसएमएसमार्फत सूचना पठाउँदै सतर्क रहन आह्वान गरिएको छ ।

केन्द्रका अनुसार कैलालीको टीकापुर र आसपास डुवानको उच्च जोखिममा परेको छ भने कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत नदीमा बाढीको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेशका एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

रातिदेखिको वर्षाको क्रम कम्तिमा भोलिसम्म कायमै रहने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आह्वान गरेको छ ।