अर्जुनधारा । झापा जिल्लाका १५ पालिकामध्ये ७ वटा पालिका डेंगु रोगको जोखिममा रहेका छन् । डेंगु रोगको प्रकोप नियन्त्रण तथा रोकथामको विषयबारे जानकारी दिने उद्देश्यले अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा बिहीबार एक दिवसीय अभिुमुखीकरण कार्यक्रममा सो जानकारी दिइएको हो ।

अभिमुखीकरणका सहजकर्ता तथा स्वास्थ्य कार्यालय झापाका भेक्टोर कन्ट्राेल अफिसर जीवन चौँलागाईका अनुसार पछिल्लो तथ्यांकअनुसार झापाका ७ वटा नगरपालिकामा यस रोगका बिरामी फेला परेका छन् ।

सहर केन्द्रित डेंगु रोग भएकाले पनि नगरपालिकामा यस रोगका बिरामी फेला परेका हुन् । उनका अनुसार झापाको दमक, भद्रपुर, बिर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगर र गौरादह नगरपालिकामा यस रोगका बिरामी फेला परेका हुन् । यीमध्यै दमक नगरपालिकामा डेंगु रोगको अति जोखिम बढेर गएको छ ।

उनका अनुसार गतवर्ष झापामा ४२१ जनामा रोग संक्रमण भएको थियो भने सन् २०१८ मा १० जनामा मात्र संक्रमण भएको थियो । यसअघि सन् २०१७ मा एक जनाको मृत्यु हुनुका साथै ५३५ जना डेंगु रोगका बिरामी फेला परेका थिए ।

एडिस एजिप्टाइ प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट सन् २०१६ मा ४२० जना संक्रमित भएका थिए । २०१५ मा ८ जनामा मात्र संक्रमण देखिए पनि २ जनाको निधन भएको उनले बताए ।

पहिलोपल्ट सन् २०१२ मा काँकरभिट्टाका एक व्यक्तिमा डेंगु रोग फेला परेको थियो भने २०१३ मा २०२ जना, ०१४ मा १३ जना संक्रमित फेला परेका थिए ।

यो रोग अन्य लामखुट्टेको टोकाइबाट नसर्ने उनको भनाइ छ । एडिस एजिप्टाइ लामखुट्टेले टोकेरमात्र पनि नसर्ने बताउँदै उनले संक्रमित व्यक्तिलाई टोकेपछि अन्य व्यक्तिमा टोकेको खण्डमा मात्र डेंगु रोग सर्ने जानकारी दिए । संक्रमित पोथी लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित हुने बताउँदै उनले एक पटकमा ५ सयदेखि एक हजारसम्म अण्डा पार्ने गरेको बताए ।

घर वरिपरि रहेका भाँडा, गमला, प्लास्टिकको सामग्री, ड्रम, टायरलगायतमा जमेको पानीमा यस लामखुट्टेको बासस्थान रहने र त्यही अण्डा पार्ने यसको जीवनचक्र रहेको छ भने यसले दिउँसोपख मात्र मानिसलाई टोक्ने उनको भनाइ छ । जमेको सफा पानीमा यसले आफ्नो बासस्थान बनाउने गरेको छ ।

८ वर्षअघि झापामा डेंगु रोग फेला परे पनि अर्जुनधारा नगरपालिका क्षेत्रमा भने करिब ३ वर्ष अघिमात्र यसका रोगी फेला परेको सरकारी तथ्यांक छ । यस रोग संक्रमण भए मान्छेमा उच्च ज्वरो आउने, टाउको, पेट दुख्ने, वाकवाकी लाग्ने, जोर्नी दुख्ने, रक्तश्राव हुने, विमिरा आउने, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग दुख्नेजस्ता लक्षण देखा पर्ने गर्छ ।

करिब १ महिनासम्म आयु रहेको यस लामखुट्टेको टोकाइ र डेंगुको संक्रमणबाट बच्नका लागि जमेका पानी सफा गर्ने, अनावश्यक पानी जम्न नदिने र लार्भा खोज तथा नष्ट अभियानमात्र विकल्प रहेको भेक्टोर कन्ट्रोल अफिसर चौलागाईको भनाइ छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा डेंगु ज्वरो के हो, डेंगु ज्वरोका लक्षणहरु, डेंगु ज्वरोको उपचार, डेंगु ज्वरोबाट बच्ने उपायहरुलगायतको विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नगर कार्यपालिका सदस्य रमेश त्रिखत्री, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले रोगको विषयमा जिज्ञासा राखेका थिए भने नगरका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी नगरका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी शुक्रबार अभिमुखीकरण कार्यक्रम गर्ने स्वास्थ्य शाखाले तत्कालै डेंगु रोग नियन्त्रणको लागि लार्भा खोजी गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने शाखाकी सहसंयोजक दुर्गा चापागाईंले बताइन् । कार्यक्रमको सञ्चालन शाखाका संयोजक मुकुन्द बस्नेतले गरेका थिए ।