जनकपुर । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुर आइपुगेको छ । भारतको बिहारस्थित हाजिपुरमा पार्किङ गरिएका रेल अपरान्ह २ बजे जनकपुर आईपुगेको रेल विभागले जनाएको छ ।

भारतको कोंकण रेलवेजका चिफ मेकानिकल इन्जिनियर दीपक त्रिपाठी सहितको टोलीले गुडाउँदै ल्याएको रेल, महाप्रवन्धक गुरु भट्टराई सहितको टोलीले जनकपुरमा जिम्मा लिएको हो । दुबै रेललाई सुरुवाती केही दिन परीक्षण गर्ने विभागले जनाएको छ । रेलवे विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसंग रेलको दुई सेट खरिद गरेको हो ।

नेपाल रेलवे जनकपुर साइटका इन्जिनियर विनोद ओझाले भारतको जयनगरबाट नेपाल प्रवेश गरेको रेलको दुबै सेट आज जनकपुरमा राख्ने र भोलि फेरि जयनगर लैजाने बताउनुभयो । उहाँका अनुसार जनकपुरको प्लेटफर्मसम्म आएर जयनगर फर्किने रेलका दुवै सेटलाई जयनगरमा पार्किङ गरिने छ । रेल विभागले सम्पुर्ण व्यवस्थापनको काम सकेर एक महिनाभित्रै नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाक तयार भएको हो । नेपाल आउन लागेका रेल डिजेल र विद्युत् दुवैबाट चल्नेछन् । रेलको एउटा सेटमा इन्जिनसहित ५ वटा बोगी छ । चारवटा बोगीमध्ये एउटा एसी कोच र ३ वटा जेनरल बोगी हो ।

एउटा सेटमा भने इन्जिन बोगीमा पनि यात्रु राख्न मिल्ने सिट छ । इन्जिन रहेको डिब्बालाई भने नेपालको राष्ट्रिय झण्डाको रातो र नीलो रङले पोतिएको छ । इन्जिनियर ओझाका अनुसार बोगी १ हजार ३ सय यात्रु अट्ने क्षमताको छ ।