झापा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन जारी रहने जनाएको छ ।
यस वर्षको मनसुन लम्बिएका कारण वर्षा केही दिन जारी रहने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन बुधबार सकिने दिन हो । तर, वर्षा केही दिन जारी रहेर मनसुन लम्बिने मौसमविद्हरुले जनाएका छन् ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार अबको चार-पाँच दिन मनसुन सक्रिय हुने अनुमान गरिएको छ । तोकिएभन्दा पछिसम्म मनसुन कायम रहने उनले बताए । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक चार वा पाँच दिनको अन्तरालमा मात्र दिने गरिएको छ ।
‘नेपालमा पूर्वीय र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ, त्यसैले केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना छ’, अर्यालले भने । उनका अनुसार मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ ।
त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशका समग्र भूभागमा नै मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय भएर मुलुकभर वर्षा हुने छ ।
नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैँ दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागिसमेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने मौसमविद् अर्यालको भनाइ छ ।
पश्चिमी वायु उच्च भएसँगै पूर्वीय वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि बल्ल मनसुनको अन्त्य हुन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ । अघिल्ला केही वर्षयता कहिले मनसुन ढिला सुरु हुने त कहिले ढिला सकिने प्रवृत्ति देखिएको थियो तर यस वर्ष भने मनसुन सुरु भएकै दिन जुन १० बाट नै मनसुन सक्रिय बन्यो ।
यसैबीच आज (बुधबार) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विशेष गरेर प्रदेश १, २, बाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने जनाइएको छ ।
राति पनि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ।