बिर्तामोड । अर्जुनधाराका ३ का कोरोना संक्रमित स्थानीय एक पुरुष उपचारका क्रममा बिर्तामोडका २ र भद्रपुरमा उपचार गराउन गएको खुलेको छ ।
छातीमा समस्या भएका अर्जुनधारा ३ निवासी ती व्यक्तिको उपचार गराउन बिर्तामोडको संजीवनी हस्पिटल, मनमोहन मेमोरियल र भद्रपुरस्थित मेची अस्पताल भर्ना भएका थिए । छातीमा समस्या भएका ६० बर्षीय पुरुषको स्वास्थ्यमा सुधार नभएपछि मेची अस्पतालले धरान रेफर गरेको अर्जुनधारा वडा नम्बर ३ का अध्यक्ष जीवनकुमार भण्डारीले बताए ।
उनका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ती ब्यक्तिको स्वाब संकलन गरी कोरोना चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित ब्यक्ति संजीवनीमा ४ दिन र मनमोहन मेमोरियल सामुदायिक अस्पताल र मेची अस्पतालमा केही दिन बसेको बताइएको छ ।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि सम्बन्धित वडा कार्यालयले एक सूचना जारी गर्दै कन्ट्याक ट्रेसिङको रिपोर्ट नआउञ्जेल स्थानीय संघसंस्था, बजार, पसल बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, वडाबाट हुने सम्पूर्ण कामकारबाही बन्द गरिएको पनि जनाएको छ ।